रारा, १० जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणाली अञ्चलभित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितिमा संकलन गरेर परीक्षण गरिएका दुईहजार ७५५ व्यक्तिको स्वाब पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
प्रतिष्ठान जुम्लाका निर्देशक डा मंगल रावतले प्रतिष्ठानमा शुक्रबारसम्म संकलित ती स्वाबको पिसीआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब संकलन गर्ने कार्यलाई तीव्रता दिइएको डा रावतले बताए ।
प्रतिष्ठानमै ४२४, कालिकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट ७८९, नेपाली सेना ७०, हुम्लाबाट ४०८, पत्रकार १८ जनाको स्वाबको पिसीआर परीक्षण गरिएको हो । आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको पनि प्रतिष्ठानले जनाएको छ ।