Logo
Logo

सुन तस्करी जाँचबुझ आयोगबाट कारबाही सिफारिस भएका एसपी पुरस्कृत


693
Shares

काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा यस वर्षको उत्कृष्ट अनुसन्धानकर्ता बनेका छन्।

६९ औं प्रहरी दिवसको अवसरमा मंगलबार एसपी थापालाई पनि प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले उत्कृष्ट अनुसन्धानकर्तातर्फ पुरस्कृत गरेका हुन् ।

भन्सार विभागले बरामद गरेको ६१ किलो सुन प्रकरणको अनुसन्धान पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको थियो । सीआईबीले सुन प्रकरणको अनुसन्धान एसपी थापाको कमाण्डमा गरेको थियो ।

तर सुन प्रकरणको अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारले पछि आयोग गठन गरेको थियो। पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित समितिले प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै सीआईबीकै अधिकारीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

आयोगको सिफारिस लगत्तै नुवाकोटको प्रहरी प्रमुख रहेका थापालाई हेडक्वाटर तानिएको थियो ।

उक्त समितिमा सीआईबीकै प्रमुख समेत भइसकेका पूर्व एआईजी सहकुलबहादुर थापा पनि सदस्य थिए। उक्त समितिले कारबाही गर्न सिफारिस गरेका थापालाई प्रहरी महानिरक्षिक कुंवरले उत्कृष्ट अनुसन्धानकर्ताका रुपमा पुरस्कृत गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुंवरले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायव निरीक्षक जीवन कुमार कार्की र प्रहरी नायव निरीक्षक सुवाष यादवलाई प्रशंसापत्र प्रदान गरेका छन्।

अन्य विधातर्फ पनि उत्कृष्ट प्रहरीहरुलाई दिवसकै अवसरमा प्रसंशा पत्र र नगदसहित सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्