Logo
Logo

मीनबहादुरले दान गरेको जग्गाका विषयमा अनर्गल प्रचार नगर्न एमालेको आग्रह


441
Shares

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय भवनका विषयमा पार्टी र नेतृत्वको विपक्षमा लाञ्छना लगाइएको भन्दै भत्र्सना गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै ७५ वर्षे इतिहास बोकेको पार्टीप्रति लान्छना लगाउने काम भएको बताएका छन् ।

“जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू अत्यन्त खेदजनक छन् । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ,” विज्ञप्तिमा उल्लेख छ ।

पार्टी कार्यालय बनाउन कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले १० रोपनी १४ आना जग्गा दान गरेको विषयले अहिले चर्चामा छ ।

पार्टीका समर्थक गुरुङले भवन निर्माणका लागि जग्गा दान गरेको विज्ञप्तिमा उल्लेख छ ।

“…यसैक्रममा नेपाली माटोमा हुर्किएका एकजना सफल व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व हाम्रो पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र वहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका वडा नं. २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।

गुरुङ विद्यार्थी कालदेखि नै अनेरास्ववियु र स्ववियुमा सक्रिय रहेको पनि एमालेले जनाएको छ ।

“स्मरणरहोस्, निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ्ग सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई टे«ड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ,” गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जग्गा स्वीकारमा कुनै लेनादेन नभएको पनि जनाइएको छ । “अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले वहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं । यसमा कुनै किसिमको पनि सौदावाजी र लेनादेना छैन,” भनिएको छ, “ वहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैंले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन ।”

प्रतिक्रिया दिनुहोस्