Logo
Logo

अघि बढ्यो बारका अध्यक्षविरुद्धको अदालतको अवहेलना मुद्दा


0
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध चलाइएको अदालतको अवहेलना मुद्दा अघि बढेको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।

गत असोज १४ गते सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन तयार पारेका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन फिर्ता लिने बताएका थिए । तर, बिहीबार पहिलो पेसी नै संयुक्त इजलासमा चढाएर सुनुवाइ भयो । घिमिरेले आफ्नो कुरा राखेर निवेदन फिर्ता लिने घोषणा गरे पनि फिर्ताका लागि निवेदन नदिएपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो ।

‘म हिजोदेखि निदाउँन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैँ यसकै लडाइँ लड्नुभयो,’ घिमिरेले असोज १७ गते मध्यरातमा फेसबुकमा लेखेका थिए, ‘बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु ।’

उनले अदालत खुलेपछि आफ्ना कुरा राखेर निवेदन फिर्ता लिने पनि बताएका थिए ।
बारका अध्यक्ष घिमिरेले भने आफूविरुद्ध अदालतको अवहेलना मुद्दा फिर्ता नभएकाले अब प्रक्रियाअनुसार अघि बढ्ने बताए । उनले आफूले कुनै मुद्दा विषयमा वा प्रधानन्यायाधीशको काम कारबाहीमा नभई न्याय परिषद्का अध्यक्षमाथि टिप्पणी गरेको बताए । यस विषयमा अब प्रक्रियागत जवाफ दिएर अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्