Logo
Logo

हमास प्रमुख सिनवार मारिँदा सबैभन्दा खुसी अमेरिका


378
Shares

काठमाडौं । इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएका छन् । सिनवार मारिएको इजरायलले पुष्टि गरेको छ । हमास प्रमुख सिनवार मारिँदा सबैभन्दा खुसी अमेरिका भएको छ । सिनावार मारिएको खबर पाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनल खुसी व्यक्त गर्दै यो ‘विश्वकै लागि राम्रो दिन’ भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति बाइडेनले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा उनीहरूको एउटा अपरेशनको एक हिस्साको रूपमा मारिएको जानकारी दिएका छन् । डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको छ । इजरायल, अमेरिका र सम्पूर्ण विश्वका लागि यो राम्रो दिन हो ।’

अमेरिकी राष्ट्रपति बाइडेनले सिनवारप्रति निन्दा गर्दै हमास नेता याह्या सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकको मृत्युका लागि जिम्मेवार रहेको बताउँदै आएका थिए ।

बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमासको हमलाको मुख्य योजनाकार याह्या सिनवार रहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘सिनवार ती सबै लक्ष्यहरू प्राप्त गर्नमा एक अपार बाधा थिए । त्यो बाधा अब रहेन । तर, अझै धेरै काम बाँकी छ ।’

बाइडनले विज्ञप्तिमा भनेका छन्, ‘म छिट्टै प्रधानमन्त्री नेतन्याहू र अन्य इजरायली नेताहरूसँग कुरा गर्नेछु र उनीहरूलाई बधाई दिनेछु । उनले बन्धकहरूलाई उनीहरूका परिवारहरूमा फर्काउने मार्गका बारेमा छलफल गर्ने पनि बताएका छन् । ‘यस युद्धलाई एक पटक र सबैका लागि समाप्त गर्नेछु’ उनले भनेका छन्, ‘जसले निर्दोष मानिसहरूलाई धेरै विनाश गरेको छ ।’

उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको मृत्युको स्वागत गर्दै यसलाई ‘अन्ततः गाजामा युद्ध समाप्त गर्ने’ अवसरका रूपमा चित्रित गरेकी छन् । ‘न्याय भएको छ’ ह्यारिसले सञ्चारकर्मीहरूसँग भनिन्, ‘सिनवार हजारौं निर्दोष मानिसहरूको हत्याका जिम्मेवार थिए, जसमा अक्टोबर ७ का पीडितहरू र गाजामा मारिएका बन्धकहरू पनि थिए।’ उनले सिनवारको मृत्युले हमासका पीडितहरूका परिवारले राहतको भावना महसुस गरिरहेको टिप्पणी गरेकी छन् ।

बिहीबार राति इजरायलले हमासका नेता याह्या सिनवार आफ्नो आक्रमणमा मारिएको जानकारी दिएको थियो । इजरायली विदेशमन्त्री काट्जले विहीबार गाजामा इजरायली सेनाले गरेको कारबाहीमा सिनवार मारिएको बताएका छन् । सिनवारलाई गत अक्टोबर ७ मा भएको आक्रमणको मुख्य योजनाकार भएको उनको भनाइ छ ।

जुलाईमा हमास नेता इस्माइल हानियाको मृत्युपछि याह्या सिनवार हमासको नेता बनेका थिए । इजरायली कारबाहीका क्रममा तेहरानमा इस्माइल हानिया मारिएका थिए । गाजामा हमासको राजनीतिक शाखाका नेता याह्या सिनवार इजरायलको मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए ।

प्रतिक्रिया दिनुहोस्