Logo
Logo

समृद्धिका लागि शिक्षामा सुधार ल्याउनुपर्छ: उपेन्द्र यादव


189
Shares

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश समृद्धि र विकासका लागि शिक्षामा सुधार ल्याउनुपर्ने बताएका छन् ।

जनतासँग जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आज आयोजित कार्यक्रममा उनले देशलाई अगाडि बढाउन त्यसका लागि शिक्षाको विकास हुनु आवश्यक रहेको बताए ।

‘सबैभन्दा बढी शिक्षा क्षेत्रको अवस्था लथालिङ्ग भएको छ’, अध्यक्ष यादवले भने, ‘कुनै पनि मुलुकको विकास र समृद्धिका लागि त्यो देशको जनता शिक्षित हुनुपर्छ ।’ उनले देशको विकास र समृद्धिका लागि गरिबी, बेरोजगारी र भ्रष्टाचार अन्त्यगरी समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नरहेको जिकिर गरे ।

मधेस आन्दोलनपछि आएको सङ्घीयता अहिलेसम्म कार्यान्वयन नभएकाले दलित उपेक्षित, महिला मधेसी जनताको अधिकार सुनिश्चित हुन नसकेको उल्लेख गर्दै अध्यक्ष यादवले ठूला पार्टी राष्ट्रिय निर्माणमा असफल भएको आरोप लगाए । शासक वर्गका कारण मधेसमा विकास नभएको भन्दै उनले गरिबी, बेरोजगारी, कमजोर शिक्षा र न्यून जनप्रतिनिधित्व देखिएको उल्लेख गरे ।

अध्यक्ष यादवले विभिन्न सङ्घर्षबाट मधेसी, आदिवासी, जनजाति, थारु, मुश्लिम, दलित, महिलाले पाएको अधिकार खोसिन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै प्राप्त उपलब्धिको रक्षा र थप अधिकार सुनिश्चितताका लागि एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्