Logo
Logo
कविता-साहित्य

लिपुका हजुर बा


सुशीला शर्मा

1.6k
Shares

करायो मेघझैं सुनेर आवाज लम्किए सिमातिर
चिरेर बुढ्यौली त्यो नब्बे वर्षको बोकी अथाह पीर
आफ्नै आँगनी अगाडि सिमाना त्यो मिच्दै गरेको क्षण
विक्षिप्त बनेको भूमिमा खहरे अश्रु झारेको क्षण !

मेरै जिजुले लडेको थलो हो यो भन्दै थे दादा धरी
सुनेर अनौठो भाषामा गाली त्यो उभिए मुर्ती सरी
के देख्नुपर्यो हरे ! आँखै अगाडि यो भूमि जोतिएको
विर्सौंला मूल्य रगतको कसरी माटोमा पोतिएको ।

आवेगमै उचाले वेतको लौरो के लुट्न आयौ भनी
बेहोसीपनमै हानेर बलले लडे भुइँमा अनि
अकस्मात रोकियो बोली केवल नयन चर्दै थिए
मिचिदै गरेका भूमि ती सबको सचित्र कोर्दै थिए ।

न निल्न पाए एक घुट्की पानी नै मेटेनन् त्यो तिर्सना
अन्तिम घडिमा दिएको आशिष सकिन्न लौ विर्सन
रक्तबीज फुलेको पवित्र माटोमा टेक्ने दुरूत्साह
परास्त गर्दै उठाउन शीर यो भरियोस् है उत्साह ।

कस्तो अचुक बुटी नै बनी गयो हजुरबा को बोली
भूकम्प कोरोना बाढी र पहिरो के हुन्छ अब भोलि ?
कोरिए भूमि ती नेपाली नक्सामा इतिहासै रचियो
प्रसन्न मनले दिप त्यो बालेर शान्ति मन्त्र जपियो ।।

–सुशीला शर्मा

बागमती प्रदेश , भिमेश्वर नगरपालिका –४ ,दोलखा ।

प्रतिक्रिया दिनुहोस्