नदीहरू सामान्यतया निलो भएर बग्छन् । कहावत् नै छ, नदीको रङ्ग निलो हुन्छ । चीनमा ‘यल्लो रिभर’ छ । यस नदीलाई मानव विकास क्रमको पौराणिक तथा ऐतिहासिक थलोको रूपमा हेरिन्छ र अध्ययन गरिन्छ । त्यसैगरी दक्षिण अमेरिकामा ‘रेड रिभर’, दक्षिणी चीनहुँदै भियतनामसँग जोडिने ‘ब्ल्याक रिभर’ छ ।
किंवदन्तीअनुसार राजा रन्तिदेवले गाई तथा पशुवली यज्ञ गरेपछि त्यसको छाला सुकाउँदा छालाबाट रगत चुहेर बनेको रगतको नदी चर्मण्वती (चम्बल) पनि छ । त्यसैले कतै रगतको नदी, कतै पसिनाको नदी त कतै आँशुको नदीको मिथक बनाई विभिन्न नदीहरूको नाम अस्तित्वमा छन् । बाढीको बेला पहेलिनु, रातो माटोको मुहानसँग रत्तिनु या कमेरो माटोबाट सेतो बग्नु प्राकृतिक कुरा भए ।
कविहरूले नदीलाई फरक रङ्गबाट देख्छन् । उनीहरूले नदीलाई रङ्गीन बनाउँछन् । कवि हाङ्युग अज्ञातले तमोर हरियो बग्ने कविता नै लेखेका छन् ।
जुनू रानाको कविता सङ्ग्रह ‘रातो नदी’ हातमा लिइरहँदा यी शब्दहरू सरर उब्जिए । पुस्तकको आवरण हेरिरहँदा उनको कवि आँखाले नदीलाई रातो देख्यो, अर्थात युद्धका कारण बग्ने नदी रातो भयो होला भन्ने कुरा मनमा खेल्छ । पुस्तकको नाम सुन्दा र हेर्दा झट्ट सोचिने त्यति नै हो । तर जब यसका पाना पल्टाउन शुरु गरिन्छ, यो कुनै नदीको विम्बात्मक भाषा होइन, भनेर बुझ्न थालिन्छ । यो त एउटा विद्रोह ओकल्ने शसक्त कविताको सङ्ग्रह रहेछ, भन्ने भान हुन थाल्दछ ।
हरेक महिना
एउटा ‘रातो नदी’ बगाएर
साबिकको दिनचर्या
विश्व समाज–चिन्तन
र चासोसहितको
चट्टानी आँट लिएर
जीवन–सङ्घर्षको रणभूमिमा
लडिरहेकी म एक योद्धा ।
(रातो नदी –१, १९)
यति नै पंक्ति पढ्दा नै प्रष्ट हुन्छ, कविले बोल्न खोजेको विद्रोहात्मक स्वर । नदी पानीको मात्रै हुन्न र जमिनमाथि बग्ने पानीको वहावमात्रै नदी होइन । एउटा महिलाले हरेक महिना बगाउने ‘रज’ पनि नदी हो ।
मानिसले जीवन जिउने क्रममा पसिनाको नदीलाई धेरै विम्ब बनाए । पसिनामा रङ्ग देखे, पसिनाको गन्धसँग रमाए । पसिनाले जमिन सिँचाएको कुरा लेखे । त्यसपछि मानिसले आँशुलाई पनि विम्ब बनाउनेको कमि छैन । आँशुको नदी बगाएरै सृष्टि चलेको कुरासम्म ओकलेका छन् । तर ति विम्बभन्दा खतरा त ‘रातो नदी’ बगाएर सृष्टिको कथा भन्ने कविता रहेछ । सृष्टि भनेको उम्रनुदेखि बाँच्दै जीवनको इहलिला समाप्त गर्नुसम्मको कथा हो, जो चलिरहन्छ ।
हरेक महिना
मभित्र बग्छ रातो नदी
बर्खाको स्वरूपमा
र, मलाई माटो बनाएर जान्छ
(रातो नदी –१, १९)
‘रातो नदी’ विद्रोहको प्रतिक
रातो नदी पुस्तकको नाम र रातो नदी शिर्षकका दुई कवितामात्र होइनन्, सङ्ग्रहभित्र सङ्ग्रहित ६८ वटा कविता रातो नदीकै पेरिफेरिमा छन् । अर्थात् विद्रोहको प्रतिक बनेका छन् । रातो आफैँ क्रान्ति हो । क्रान्तिलाई अगाडि बढाउँदा कविले कतै सीताहरूको ‘बोली’ बोलिदिएकी छन् । कतै नारीलाई एउटा अंशको रूपमा हेरिदिएको प्रति आक्रोश पोखेकी छन् ।
पुज्य छिन् आज पनि– ‘शास्त्रकी सीता’
तिरस्कृत छन् ‘राज्यका सीताहरू’ ।
(सीताहरू, २२)
आखिर किन
शरीरको सुन्दरता÷कुरूपता मात्रै देख्छौ
किन देख्दैनौं तिमी अर्को तिमी
किन देख्दैनौ सृष्टिका लागि
मरेर बाँचेको अर्धशरीर ?
(तिम्रो अंश, २८)
विद्रोहको स्वर विभेदबाट उठ्न शुरु हुन्छ । विभेदका अनेक रूप छन् । कुलिन वर्गबाट मध्यम र निम्न वर्गमाथिको विभेद, मध्यमबाट निम्न वर्गमाथिको विभेद, कथित उच्च जातबाट कथित तल्लो जातमाथिको विभेद, एउटा समुदायबाट अर्को समुदायमाथिको विभेदजस्ता अनगिन्ति विभेद छन् । त्यसमा पनि सम्पूर्ण वर्ग, जात, समुदायमा पुरुषले महिलामाथि गर्ने विभेद साझा विभेदको रूपमा हेरिएको छ । विभेदहरूमाथि आवाज उठाउँदा कविले सबै खाले विभेदमाथि आवाज उठाएकी छिन् ।
जातकै दिन बनाउनु
जातकै रात बनाउनु
सूर्य, चन्द्रमा र समुद्र जातकै बनाउनु
अरुतिर नहेर्नू
(जातको ब्रम्हाण्ड, ३९)
माइती भन्छन् –
तिमी पराईकी धन !
घरका भन्छन् –
तँ पराईकी छोरी !
(पराई, ४९)
त्यस रात यता
भेरी सुस्केरा हाल्दै बगिरहेको छ
धोका, चोट र रोदन
भेरीका हरेक ढुङ्गाढुङ्गामा गुन्जिरहेका छन्
नवराजहरू
भेरीका वारिपारि
सुसेली हालिरहेका छन् ।
(भेरी साक्षी छ, ८५)
अर्को नदीको पहिचान
जरुवादेखि खोल्सीहुँदै नदी बग्ने प्राकृतिक प्रक्रिया हो । त्यसबाहेक पनि अन्य नदीहरू हुन्छन् । हाम्रो समाज सबैभन्दा धेरै ‘आँशुको नदी’मा बहलिन्छन् । भावनामा बहकिँदा भट्ट बग्ने आँशुको नदी नै हो । मानिस कर्ममा पनि विश्वास गर्ने भएकोले ‘पसिनाको नदी’ अर्को चलनचल्तीको रूपमा आएको नदी हो । बग्नु नदीको धर्म हो भने अविरल बगिरहेको हुन्छ, जहाँबाट सृष्टिको शुरुवात हुन्छ, त्यसलाई किन नदी भनिनबाट उपेक्षा ? भन्ने सवालबाट नै कविले अर्को नदीको पहिचान गरेकी हुन् भन्दा फरक नपर्ला ।
उक्त बगाईलाई नदीको उपमा नदिई बगाइमाथि चरम विभेद गरिएकैले कविको मनमा विद्रोह पलाएको हुनसक्छ । रातो नदीलाई नदीको रूपमा पहिचान गरिएन । गरियो त अपवित्र बगाईको रूपमा मात्रै । समाजमा पढाइयो –‘रातो नदी त्यो हो, जसले बगाएको निहुँमा छोइछिटो गरिन्छ । हेलाहिंसा गरिन्छ । पर छाउगोठमा राखिन्छ । पूजापाठ तथा कुनै शुभकार्यमा प्रवेश वर्जित गरिनुपर्छ ।’
अपवित्र भएको निहुँमा पर सारिएपनि ‘कालो छाँया ’हरू पवित्र सम्बन्धको लागि पुगेर अपराध घटाएको समाचारहरू बारम्बार पढ्न नपाइएको भने होइन । तसर्थ कविले रातो नदी बगाउनेहरूलाई भाग्यको रूपमा लिन र यसलाई सङ्कीर्ण प्रथामा धकेल्नेप्रति आन्दोलित बन्नका लागि शसक्त आवाज उठाउन यस सङ्ग्रहको जन्म गराएकी हुन् ।
हे नारी !
हे धरती !
हरेक महिना तिमीले
आफैँभित्र रातो नदी बगाएर
निरन्तर उर्वरता जन्माउनु तिम्रो भाग्य हो
सङ्कीर्ण प्रथाहरूलाई चुनौती दिँदै
छाउपडी गोठहरूमा
एक्लै नछट्पटिनु र पीडादायी मृत्यू नभोग्नु
त्यो तिम्रो अधिकार हो ।
(रातो नदी –२)
कविताको थुप्रोहरूमा विद्रोहका लप्कामात्रै छैनन् । निरस, प्रेम, मातृत्व, भय आदिका आवाज पनि आएका छन् । महिलामाथिको पुरुषविभेदको आवाज लेख्दालेख्दै बुबाको महानगाथा पनि लेखिन पुगेको छ । नेपालभन्दा टाढा रहनुपर्दाको क्षणबाट गुम्सेर देशप्रेमको भाव पनि छचल्किएको छ । लाहुर र लाहुरेका कथा पनि आएका छन् । यसले विद्रोह र मानवता सँगैसँगै मानिसले लिएर हिडेका हुन्छन् भन्ने बुझाउँछ ।
पृथ्वीमा नदीहरू छन् । जो अविरल बग्छन् । अविरल बग्ने नदीसँग मानिसले आश्रयस्थल बनाएका छन् । नदीको कारण जमिन खेतीयोग्य बन्छन् । पृथ्वीमा रहने जीव या निर्जिव सबै बग्ने पानीसँग आश्रित छन् । के त्यसोभए समुन्द्रको पानी बगेको देखिन्न, त्यससँग आश्रय लिएका छैनन्र जीवले ? भन्ने प्रश्न नि उठ्न सक्छ । त्यसो होइन, हेर्दा समुन्द्र स्थीर छ । तर उसले बगिरहेको हुन्छ, कहिले ज्वारभाटाको नाममा, कहिले चक्रवातको नाममा । त्यसरी बगेर नै समुन्द्रमा विशाल ह्वेलदेखि आँखैले नदेखिने जीव बाँचिरहेका छन् ।
हो, नबग्ने मृतसागर पनि छ, तर त्यहाँ जीवन छैन । फरक यति हो, रातो नदी सृष्टिको लागि बग्छ । सृष्टि गर्छ र रोकिन्छ । सृष्टि गरिसकेपछिको जीवन मृतसागर बन्दैन । सृष्टि भएका सन्तानहरूका लागि पनि नदी बगाइरहेको हुन्छ, कहिले पसिनाको माध्यमबाट, कहिले आँशुको माध्यमबाट ।
समग्रमा हेर्दा नदी सृष्टि हो । रातोबाट शुरु भएर निलो बग्दैबग्दै जान्छ, र जानुपर्छ । किनभने नदीसँगै जीवन पनि बगिरहेको छ ।