Logo
Logo

रास्वपाको आरोप- प्रतिशोध साँध्न अदालत प्रयोग गरियो


441
Shares

पोखरा । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले सरकारमा रहेकाले राजनीतिक प्रतिशोध साँधेर अदालतको प्रयोग गरेको आरोप लगाए ।

‘अदालतमा पनि पार्टीमा मान्छे छन् । नत्र ७ जनामा त्यही न्यायाधिश कसरी पर्छ । ७ जनामध्ये आजभन्दा २५ दिनअघि जुन न्यायाधिशले गर्नेवाला थियो हिजो त्यही कसरी पर्छ । ६ जना बिदामा कसरी हुन्छ’ उनले भने, ‘सबैले भनेका छन्, हामीले मात्रै भनेका होइन । अदालत नांगियो भने हामी न्याय खोज्न कहाँ जाने। उहाँहरुले राजनीतिक प्रतिशोध कुण्ठाको लागि अदालतको पनि प्रयोग गर्दै हुनुहुन्छ ।’

उनले आफूहरु वास्तविक सहकारी पीडितको पक्षमा लडिरहेको जिकिर गर्दै प्रधानमन्त्री केपी ओली र कांग्रेस महामन्त्री गगन थापाले रवि लामिछानेमात्रै देखेको जिकिरे गरे । उनले भने, ‘सहकारीमा ८७ अर्ब फसेको छ। हामीले त्यो समस्या समाधान गर्नुपर्छ भनिरहेका छौं। हामी कसैलाई उन्मुक्ति दिन हुँदैन भन्ने पक्षमा छौं । उहाँहरुले सार्वजनिक लेखा समितिको सभापतिको श्रीमती भएकाले उन्मुक्ति, कांग्रेसको उपसभापति भएकाले उन्मुक्ति पाउने रे, हामीले उन्मुक्ति खोजेका छैनौं न्याय खोजेका हौं ।’

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई सहकारीको बचत अलचन मुद्दामा प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरेर पोखरा लगेको हो ।

जिल्ला अदालत कास्कीले उनीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ । आज शनिबार भएकाले रविलाई भोलि आइतबारमात्रै अदालतमा उपस्थित गराइने भएको छ ।

सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले काठमाडौंमा पनि प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्