Logo
Logo
जम्काभेट

‘राज्यले खेलाडीलाई सुविधा दिन कन्जुस्याई नगरे हुन्थ्यो’


252
Shares

सानैमा पौडी खेल्न रुचाउँथिन् उनी । भनौं, उनलाई पाँच वर्षकै उमेरमा पौडीप्रति मोह जागेको थियो । तर, पौडीबाज अर्थात पौडीमै राष्ट्रिय खेलाडी बन्छु भनेर एकरति सोचेकी थिइनन् । आज उनै अनुसिया तन्डुकार राष्ट्रिय पौडी खेलाडी बनेकी छन् ।
करिब एकदर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेकी अनुसिया भन्छिन्, ‘सात वर्ष हुँदै पौडी खेल्थेँ । तर, पौडीमै राष्ट्रिय खेलाडी बन्छु भनेर सोचेकी थिइनँ ।’ केही समयअघि चीनमा सम्पन्न ‘साउथ एसियन गेम’मा कास्य पदक जितेकी अनुसिया खेलमार्फत देशलाई चिनाउन पाउँदा गर्व गर्छिन् ।

उमेरले भर्खर १८ वर्ष टेकेकी अनुसियाले पौडी खेलसँगै भविष्यमा सरकारी उच्च पदमा पुगेर सेवा गर्ने लक्ष्य लिएकी छिन् । हाल उनी आगामी डिसेम्बरमा हुने ‘वल्र्ड च्याम्पियन’ पौडी प्रतियोगितामा भिड्ने तयारी गर्दैछिन् । यिनै पौडीबाज अनुसिया तण्डुकारसँग दशैँअघि रेजिना पाण्डेको जम्काभेट :

आजभोलि के गरिरहनुभएको छ ?
अहिले गेमभन्दा पनि पढाइलाई बढी फोकस गरिरहेको छु । बिबीए पहिलो वर्षमा पढदैछु । त्यसैले हिजोआज कलेजमै बढी व्यस्त हुँदै आएकी छु ।

तपाइँ पौडी खेलतिर कसरी लाग्नुभयो ?
मलाई पौडी खेलको तयारी घरबाटै गराइएको थियो । चार/पाँच वर्षको हुँदा मलाई स्वमिङ गर्न रहर लाग्थ्यो । मेरो रहर देखेपछि ममी–बाबाले सानैदेखि पौडी सिकाउनुभयो । पौडीप्रतिको लगावसँगै मैले ७ वर्षकै उमेरमा इन्टर स्कुल प्रतिस्पर्धामा भाग लिएँकी थिएँ । त्यसपछि पौडीप्रति मेरो लगाव झनै बढ्दै गयो । त्यसमा मलाई घरपरिवारले पनि साथ दिनुभयो । अहिलेसम्म १० वटा गेममा प्रतिस्पर्धा गरिसकेकी छु ।

पौडीमा पहिलोपटक प्रतिस्पर्धा गर्दाको अनुभव कस्तो रह्यो ?
सानै भएकोले खेलमा जितेपछि सबैले माया गरे । त्यतिबेला एकदमै रमाइलो लागेको थियो । जब १०/११ वर्षपछि बुझदै गएँ, खेल्दै जाँदा रमाइलो लाग्दै गयो । र, पौडी खेलप्रति आकर्षण बढ्दै जाँदा मिठातिता अनुभवहरू पनि बटुल्दै आएँ । आजसम्म राष्ट्रिय र अन्तराष्ट्रिय गरेर १० वटा गेम खेलिसकेँ । कतै जित भयो भने, कतै हार । तर, प्रयास गर्न भने छोडेकी छैन ।

प्रतिस्पर्धामा पदक जित्न नसक्दा कतिको दुःख लाग्छ ?
धेरै दुःख लाग्छ । प्रतिस्पर्धाको उद्देश्य नै जित्नु हो । र, पदक पाउनु हो । तर, कहिलेकहीँ हारले पनि जित्न सिकाउँछ । मैले यही सिकेको छु ।

तपाईँको परिवारमा कोही खेलाडी हुनुहुन्छ ?
छैन । मेरो ममी हाउसवाईफ हुनुहुन्छ भने बाबाको आफनै बिजनेस छ ।

यो उमेरमा राष्ट्रिय खेलाडी भएर चिनिँदा कस्तो लाग्छ ?
खुसी लाग्छ । मैले काम गरेको छु, परिवार, समाज र राष्ट्रका लागि केही गरौँ भनेर योजना बनाएको छु । तर, मजस्ता थुप्रै खेलाडीले राज्यबाट पाउनुपर्ने सेवा–सुविधा नपाउँदा दुःख लाग्छ । राज्यले खेलाडीलाई सुविधा दिनुपर्छ । राष्ट्रका लागि खेल्ने खेलाडीलाई सुविधा दिन राज्यले कन्जुस्याई नगरेहुन्थ्यो जस्तो लाग्छ ।

राज्यले खेलाडीलाई कस्तो सुविधा दिनुपर्छ ?
प्रायः खेलाडीले जुनै खेल खेले पनि आफैँ खर्च गर्नुपर्छ । खेलाडीले खेल्दा उसलाई तयारी गराउने, बीमा गरिदिने, खर्च र ट्रेनिङको व्यवस्था राज्यले गरिदिए राम्रो हुन्थ्यो । राज्यले दिनुपर्ने सामान्य सुविधा र व्यवस्था नगर्दा धेरै खेलाडीहरू मैदानमा उत्रिन सकेका छैनन् ।

खेल्दा खर्चको व्यवस्था आफैँले गर्नुपर्छ ?
हो, अहिलेसम्म यस्तै अवस्था छ । टे«निङ गर्दा प्रयोग गरिने सामाग्री पनि सबै आफैँले जुटाउनुपर्छ । झन् डाइट त कति महँगो छ । यसैले खेलाडीलाई गाह्रो छ । कम्तिमा पनि एउटा गेमको लागि तयार हुन दुई महिना लाग्छ । यस बिचमा धेरै खर्च भएको हुन्छ ।

हाल कुनै खेल खेल्ने योजना बनाउनुभएको छ कि छैन ?
आगामी डिसेम्वरमा हुने अन्तर्राष्ट्रिय गेमको तयारी गर्ने सोचमा छु । त्यसपछि केही वर्षचाहिँ गेमभन्दा पढाइमा फोकस गर्छु । सबैले त्यही भनिरहनु भएको छ । पहिला पढाईलाई प्राथमिकता देउ, भनिरहनु भएको छ । हेरौँ, के हुन्छ ।

भविष्यमा के बन्ने इच्छा छ ?
कुनै पनि प्रतिष्ठित कम्पनीको डाइरेक्टर लेवलको पोष्टमा बसेर काम गर्ने ठूलो रहर र इच्छा छ ।

खेललाई निरन्तरता नदिने ?
मलाई महिलाहरू ठूलो ओहोदामा बसेर काम गरेको हेर्न मनपर्छ । त्यसैले एउटा उच्च स्थानमा रहेर काम गर्ने मेरो धोको छ । साथै, खेललाई पनि मिलाएर लाने योजना छ ।

तपाईँहरू दिदीबहिनी मात्र हुनुहुन्छ । ममी-बाबाले छोरा भएन भनेर केही भन्नु हुन्न ?
केही भन्नुहुन्न । हाम्रो घरमा छोरा र छोरीमा भेदभाव गरिँदैन । मेरो हजुरआमा पनि यो भन्नुहुन्न । उहाँहरू छोराजस्तै छोरीहरूबाट माया पाएका छौँ भन्नुहुन्छ । अरुले भन्छ भन्ने त्यो हामीलाई चासो लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्