Logo
Logo

सहकारी प्रकरण : १४ जनाविरुद्ध पुर्जी, रविमात्रै पक्राउ

रवि लामिछानेलाई संगठित अपराधमा मुद्दा चलाउने तयारी


378
Shares

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । लामिछानेलाई सहकारीको रकम हिनामिना र संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीको नेतृत्वको टोलीले शुक्रबार बनस्थलीस्थित राजस्पाकै कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो । सोही दिन लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा लगिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा लामिछानेविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । अदालतले लामिछानेसहित १४ जनासविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि अरु पक्राउ परेका छैनन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । रास्वपाको केन्द्रीय कार्यालयबाट सभापति लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो ।

१३ जनाको खोजी हुँदै

जिल्ला अदालत कास्कीले शुक्रबार गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी गरेको हो । १३ जनालाई प्रहरीले खोजिरहेको बताएको छ । अदालतले पक्राउ पुर्जी जारी गर्नेमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका अध्यक्ष ओमप्रकाश गुरुङ, सोही सहकारीसहित स्वर्णलक्ष्मी सहकारी काठमाडौंका देवेन्द्रबाबु राई छन् ।

त्यस्तै, बचतकर्ताको रकम अपचलनमा जोडिएका विभिन्न सहकारीमा आबद्ध विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, विज्ञान राई, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पनि पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

के हो संगठित अपराध ?

कसैले आपराधिक समूहको लाभका लागि आपराधिक समूहको निर्देशनमा आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा संगठित अपराध गरेको मानिन्छ ।

संगठित अपराध निवारण ऐन, २०७० अनुसार संगठित अपराध गर्न तीन वा तीनभन्दा बढी व्यक्तिहरूको समूह सम्झनुपर्छ । सहकारी ठगी प्रकरणमा पनि धेरैको संलग्नता भएको सहकारीसम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदनले पुष्टि गरेकोले संगठित अपराधअन्तर्गत अनुसन्धान गरिने प्रहरीको भनाइ छ । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार मुख्य त सहकारी ठगी नै हो । त्यसमा अरू थप के के मुद्दा चल्न सक्छन् त्यसमा पनि अनुसन्धान हुने उनको भनाएइ छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएको र उक्त रकम खर्च गर्ने प्रक्रियामा लामिछाने समेतको संलग्नता देखिएको समितिले ठहर गरेको थियो ।

संसदीय विशेष समितिको प्रतिवेदनमा सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने उल्लेख छ ।

समितिले गोरखा मिडिया नेटवर्कमा मुलुकभरका ६ वटा सहकारीको रकम अपचलन भएको समितिले निष्कर्ष निकालेको छ । गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानोपाइला, नेपालगन्जको समानताबाट रकम अपचलन भएको प्रतिवेदनमा जनाइएको छ । ती सहकारीका सञ्चालक र निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुनविपरीत कार्य गरेकाले कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन समितिले सरकारलाई सिफारिस गरेको छ ।

कुनै आपराधिक समूहलाई संगठित अपराध गर्न वा संगठित अपराध गर्न सघाउ पु¥याउन कुनै काम जानीजानी गरी वा नगरी सो समूहको काम कारबाहीमा सहभागी हुने वा सघाउ पु¥याउने वा सञ्चार साधन वा सूचना प्रविधि उपलब्ध गराउने वा आर्थिक सहयोग गर्ने वा कुनै साधन उपलब्ध गराउने वा संगठित अपराध गर्ने व्यक्तिलाई आश्रय दिने, लुकाउने वा भगाउने कार्य गर्न वा गराउनमा संलग्नता देखिएमा पनि संगठित अपराध गरेको मानिन्छ । यस खालको कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्