Logo
Logo

केटी भेट्न नदिँदा आफ्नै साथीको हत्या, ५ जना पक्राउ


567
Shares

काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा प्रहरीले सिरहामा ५ जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्यामा संलग्न उनकै साथीहरु सन्तोषकुमार महरा, रोहित कुमार महरा, धर्मेन्द्र महरा, धिरज कुमार राम र मोहमद जमसेदलाई पक्राउ गरिएको हो ।

महराको शव सुखीपुल नगरपालिका १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा असोज २८ गते साँझ फेला परेको थियो ।

अनुसन्धानमा सँगै दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीले यातनासहित हत्या गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए । प्रहरीका अनुसार असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । त्यहाँ उनीहरूका अन्य साथीहरू भेट भएका थिए ।

प्रहरीका अनुसार सबैले नसालु पदार्थ सेवन गरेका थिए । सोही क्रममा कृष्णले चिनेकी एक केटी साथीलाई भेट्न नदिएको निहुँमा विवाद बढेपछि पाँचैजनाले उनलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पासवानले बताए ।

त्यसपछि अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए । असोज २८ गते कृष्णको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नै साथीद्वारा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्