विराटनगर । मामा ससुरा वडाध्यक्षलाई कार्यवाहक छाडेर सपरिवार लन्डन पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतको आदेशसमेतलाई चुनौती दिएका छन् ।
फेसबुकमा स्टाटस र भिडिओमा उनले आफूलाई अदालतले नभई जनताले मेयर बनाएको बताएका छन् । कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउनू भन्दै चेतावनीसमेत दिएका छन् ।
उच्च अदालत विराटनगरले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।
आफूले नागरिकको मताधिकारका आधारमा वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको उनको जिकिर छ ।
उनको भनाइ छ, ‘मैले जसलाई अधिकार दिएको छु उही कार्यवाहाक हो । केही हल्ला नगर । मलाई कुनै अदालतले चुनेको होइन । लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो १ म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनुभएको हो । मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु । मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक । केही हल्ला नगर ।’
भिडिओमा बोल्दै उनले अदालतले स्टे अर्डर जारी भए पनि आफूले कार्यवाहक तोकेको व्यक्ति नै धरानको कार्यवाहक मेयर भएको दाबी गरेका छन् ।