Logo
Logo

खहरेबाहेक नारायणगढ-मुग्लिन सडकको १४ पुल यसै महिना सञ्चालनमा आउने


252
Shares

चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि नै सञ्चालनमा आएको हो भने नाम्चे र तुइनखोला पुल कात्तिक मसान्तसम्ममा सञ्चालनमा आउनेगरी काम भइरहेको छ । ती दुवै पुलको कालोपत्रको अन्तिम काम र रङ्गरोगनका काम मात्र बाँकी छ ।

‘दसैँमा कामदार घर गएकाले केही ढिला भयो, यो महिनाको मसान्तसम्ममा काम सकिन्छ,’ आचार्यले भने । पहरो काटेर निर्माण भइरहेको खहरे खोलाको पुलमा पहुँच सडकका लागि धेरै तलबाट पर्खाल लगाउनुपर्ने भएकाले थप दुई महिना लाग्ने उहाँले बताउनुभयो । पुस मसान्तसम्ममा यो सडकका १९ वटै पुल नयाँ निर्माण सम्पन्न हुने आचार्यको भनाइ छ ।

यस सडकमा १९ वटा पुल छन् । त्यसमध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो । विश्व बैङ्कको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत ११ मिटर फराकिला बनाइएको छ ।

पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो । विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ । यही क्रममा पहिरो रोक्नका लागि कामसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्