Logo
Logo

एकल गायनमा गुञ्जिए गायक भीम मगर


756
Shares

काठमाडौं । संगीत प्रशिक्षक तथा बरिष्ठ गायक भीम मगर एकल गायनमा प्रस्तुत भएका छन् । मिडिया दैनिकद्वारा आयोजित ‘भीम मगर संगीतमय सन्ध्या–२०८१’मा गायक मगरले आफ्ना एक दर्जन बढी चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा गायक भीम मगरको सुमधुर गायनमा दर्शकदीर्घा मन्त्रमुध्न भएका थिए । लामो समयपछि एकल गायनमा प्रत्यक्ष रुपमा प्रस्तुत भएका भीमले ‘पूर्वैको मारुनी’, ‘भूल भए माफ गरिदेउ’, ‘मेरो माया तिमीलाई’, म त एक दिन’, ‘यो गहिरो प्रेमलाई’, ‘प्रिय तिमी’, ‘केही मिठो कुरा गरौँ’, ‘रात अझ’ जस्ता आफ्ना पुराना र लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अतिथि कलाकारका रुपमा गायक चाँदनी शाक्यले गीतकार चाँदनी शाहको शब्द तथा तारादेवीले गाएको लोकप्रिय गीत ‘उकाली ओरालीहरुमा’ गाउँदा हल गुञ्जायमान भएको थियो । अवकास प्राप्त नेपाली सेनाका उपरथि रघु भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दर्शकको भीड थियो । कार्यक्रमका प्रमुख अतिथि भण्डारीले गीतसंगीतले सबै क्षेत्र र वर्गका मानिसलाई छुने बताए ।

उनले भने, ‘नेपाली सेनाका मान्छे बन्दुक समात्नेहरुलाई गीतसंगीतको ज्ञान हुँदैन भन्नेहरु पनि छन् । तर, हामी त्यस्तो होइन, गीतसंगीत भनेको हार्टटच हुनुपर्छ । जो, संवेदनशील छ, उसले सिर्जना गर्न सक्छ । जो कसैले संगीत सिर्जना गर्न सक्दैन ।’ उनले आफूले पनि केही सिर्जनाहरु पस्किसकेको बताउँदै संगीतकर्मीहरुलाई शुभकामना दिए ।

कार्यक्रममा विभिन्न पेसामा रहेर योगदान गर्ने केही व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा टाटु कलाकार हर्ष मण्डल, समाजसेवी तथा भेगन किचनका सञ्चालिका प्रतिमा श्रेष्ठ, फस्र्ट वुमेन होटल अप्रेशन मेनेजर मेलिना राई र गायिका चाँदनी शाक्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, बरिष्ठ नृत्य निर्देशक राजु शाह, बरिष्ठ संगीतकार राजु सिंहलगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक राजन दाहाल ‘आर.डी. शृँखला’का अनुसार कार्यक्रम करिब तीन घण्टा चलेको थियो । संयोजक दाहालले भने, ‘छोटो समयमा आयोजना गरिएको भएपनि कार्यक्रम सोचेअनुरुप सम्पन्न भएको छ ।’ भक्त राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जेबी डिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्