Logo
Logo

कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ: पर्यटनमन्त्री


189
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ललितकला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको बताएका छन् ।

आज मन्त्रालयमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको टोलीसँगको छलफलका क्रममा उनले समन्वयात्मक रूपमा अझै ललितकला क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । ‘प्रतिष्ठान भनेका हाम्रा थिङ्कट्याङ्क हुन् । तपाईंहरूले सीमित स्रोत साधनका बीच पनि राम्रो काम गरिरहनुभएको छ । मन्त्रालयले यसमा सक्दो सहयोग गर्ने छ’, मन्त्री पाण्डेले भने । उनले ललितकलाको विकास गर्नु प्रतिष्ठानको दायित्वसमेत भएको बताए ।

मन्त्री पाण्डेलाई असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण प्रतिष्ठानले बेहोरेको क्षतिबारेको प्रतिवेदन बुझाइएको थियो । उनले प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गर्ने जानकारी गराए ।

प्रतिष्ठानका कुलपति नारददणि हार्तम्छालीले प्रतिष्ठान र मन्त्रालयका बीचमा आवश्यक सहकार्य तथा संवादलाई अझ घनिभूत बनाउन आवश्यक रहेको बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आव २०८०-०८१ मा प्रतिष्ठानले गरेका राष्ट्रिय ललितकला प्रदर्शनी, प्रादेशिक ललितकला प्रदर्शनीबारे जानकारी गराउंदै प्रतिष्ठानले देशका हरेक प्रदेशमा एक–एक वटा कला ‘हब’ बनाउने योजनाअनुसार रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम अघि बढेको, दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिएको र अन्य प्रदेशमा छलफल चलिरहेको जानकारी गराए ।

‘आव २०८०-०८१ मा प्रतिष्ठानले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गरेका भित्तेचित्र, शिक्षामा सिपलगायतका कार्यक्रम तथा आगामी दिनमा गरिने कार्यक्रम, वैश्विक तापमान वृद्धिका कारण नेपाललगायत हिमाली क्षेत्रमा परेका असर र त्यसका लागि गर्नुपर्ने कार्यका बारेमा सन्देश दिने हिमालयको रहस्य प्रदर्शनी गरेको थियो’, उनले भने ।

सदस्य सचिव काफ्लेले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको ललितकला क्षेत्रका विविध काम गर्न पर्याप्त बजेट र प्रतिष्ठानमा स्थायी कर्मचारीको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

छलफलमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू सौरगङ्गा दर्शनधारी, सञ्जय वान्तवा राई, अरुणा हिङ्माङ, उपप्रशासन प्रमुख कमलमणि काफ्ले, लेखा अधिकृत पङ्कज अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्