कतै पढेको थिएँ, केपी शर्मा ओलीले छोराछोरीहरुको नाममा लेखेको मन र मस्तिष्कको सम्बन्धका बारेमा लेख । उक्त लेखमा ओलीले ‘मनले काम गर भनिहाले पनि मस्तिष्कलाई एक पटक सोध । मनले भन्छ- ‘यो गर’ ।
तर मस्तिष्कलाई सोध्न भुल्यांै भने तिमीले गल्ती गर्न सक्छांै । मनले एकोहोरो आदेश दिँदा, मस्तिष्कसँग संवाद गर । मनले यसो गर भनिरहँदा मस्तिष्क भने सोच्न थाल्छ- ‘गरौं कि नगरौं ?’ मस्तिष्कले मन्थन गर्छ, आफैंसँग छलफल गर्छ, वादविवाद गर्छ । त्यसपछि, जे आदेश दिन्छ, त्यो आदेशको पालना गर । किनभने मस्तिष्कको आदेश सधैं तर्कसंगत हुन्छ’ भनेका छन् । छोरा, छोरीविहीन ओलीको यो उपदेश उपयोगी छ । ज्ञानवद्र्धक छ । एउटा अभिभावकले आफ्ना छोराछोरीलाई दिने शिक्षा भनेको पनि यही नै हो ।
तर, स्वयं ओलीले छोराछोरीलाई अर्ति दिँदै गर्दा आफूले लेखेका कुराहरुलाई कत्तिको आत्मसात् गरेका होलान् भन्ने कुराले धेरै अर्थ राख्छ । किनभने, ओली भनेका एउटा सामान्य व्यक्तिमात्र होइनन्, देशकै प्रधानमन्त्री पनि हुन् । देशको प्रधानमन्त्रीले एउटा सानो गल्ती गर्दा सिंगो देश र जनताले दुःख पाउँछन् । उनको जीवनमा यस्ता गल्ती कति पटक भयो र त्यो गल्तीलाई सच्याउने प्रयास कति गरे भन्ने कुराले पनि अर्थ राख्छ ।
संसारमा गल्ती नगर्ने मान्छे हुँदैनन् । तर, गल्ती महसुस गर्ने व्यक्ति महान् हुन्छन् । मानिसको जीवनमा मन र मस्तिष्कबीच गहिरो सम्बन्ध छ । मनले सोचेको कुरा पूरा हुनु नै मानिसको सपना हो । आफ्नो सपना पूरा गर्न मानिसमा धैर्यता, इमान्दार, मेहनत, लगनशील र उचो नैतिकता चाहिन्छ । पदले कोही पनि ठूलो मानिस हुँदैन । आफूले गरेको कर्मले मात्र मानिस ठूलो हुन्छ र त्यो कर्मले नै उसलाई महान् बनाउँछ । विश्वका धेरै चर्चित मानिसहरु आफ्नो कर्मले महान् भएका हुन् ।
संसारमा गल्ती नगर्ने मान्छे हुँदैनन् । तर, गल्ती महसुस गर्ने व्यक्ति महान् हुन्छन् । मानिसको जीवनमा मन र मस्तिष्कबीच गहिरो सम्बन्ध छ ।
ओलीको बोली, बानी, व्यहोरा धेरैलाई मन पर्दैन । त्यो कुनै मनको आवेशले होइन, मस्तिकको आदेशले हो । तर, ओलीले जतिसुकै गल्ती गरे पनि उसको सामु मस्तिष्क मौन रहन्छ । मस्तिष्क मौन रहनु भनेको कमजोरी होइन, विद्रोह हो । त्यसैले संसद् भंग गर्दा एमालेभित्रै विद्रोह भयो । त्यो विद्रोहबाट उनले के शिक्षा लिए त्यो महत्वपूर्ण कुरा हो । होइन, आफूले गरेको गल्तीलाई पनि सही ठान्ने हो भने मस्तिष्कमा केही गडबडी छ भनेर बुझ्नुपर्छ । मनले जे सोच्यो त्यही गर भन्ने मस्तिष्क मानिसको स्वभाव अनुरुप पनि हुन्छ ।
आग्रह, पूर्वाग्रह, दुराग्रह नकारात्मक कुरा हुन् । दिमागले नकारात्मक कुरालाई मलजल गर्दै गयो भने मस्तिष्कले सकारात्मक कुरा ग्रहण गर्न छाड्छ र सधैँ नकरात्मक मात्रै सोच्न थाल्छ । नकारात्मक कुराको परिणाम पनि नकारात्मक नै हुन्छ, त्यसले विश्व इतिहासमा ठूला ठूला दुर्घटना पनि निम्त्याएको छ । त्यो दुर्घटनाले मै हुँ भन्ने शासकहरुले पनि धुलो चाट्नु परेको छ । तैपनि शासकहरु चेतेको इतिहास भेटिँदैन ।
अन्त्यमा, ओलीकै शब्द सापटी– ‘तिमीलाई थाहा छ, मनको स्वभाव नै उक्साउने खालको हुन्छ । यसले तुरुन्तै केही गर्न उक्साउँछ । एउटा क्रूर उदाहरण लिऔं- कोही व्यक्तिले आफ्नो आवेग नियन्त्रण गर्न नसकेर कसैको हत्या गरिदिन्छ । यो काम मनको तात्कालिक आवेगले गरायो, जसको परिणाम उसले आजीवन जेल बस्नुप¥यो ।
यदि त्यही व्यक्तिले हत्या गर्नुअघि मस्तिष्कलाई सोधेको भए के हुन्थ्यो ? मस्तिष्कले तुरुन्तै सोच्न लगाउँथ्यो- ‘मैले हत्या गर्दा मेरो परिवारको हालत के हुन्छ ? मेरो आफ्नै हालत के हुन्छ ? के यो रिसले मलाई फाइदा गर्छ त ?’ यति प्रश्न गर्नासाथ उसको हात राकिने थिए । कसैको ज्यान बच्ने थियो । तसर्थ हामीले मनले भन्यो भन्दैमा गरिहाल्न हुँदैन । त्यस स्थितिमा मन परिपक्व भएको हुँदैन । मन सामाजिक भएको हुँदैन, मानवीय भएको हुँदैन, विधि, प्रबन्धसम्मत भएको हुँदैन । त्यसैकारण त्यसलाई विचार नभनेर भावना भनिएको हो । विचार भन्नेबित्तिकै त्यहाँ प्रशोधनको कुरा आउँछ । विचार बन्नका लागि मन्थन आवश्यक हुन्छ ।
आत्ममन्थन र आत्मबहसको कुरा आउँछ । अरूसँगको बहसका अगाडि आत्ममन्थन जरुरी हुन्छ । मन्थन किन चाहियो ? सामाजिकताका लागि । मन्थन किन चाहियो ? औचित्यपूर्ण हुनका लागि । औचित्य जैविक प्रवृत्तिले छुट्याउन सक्दैन, सामाजिक प्रवृत्तिले मात्र छुट्याउँछ । त्यसैले मनलाग्दी गर्नु हुँदैन, विचार पु¥याएर मात्र काम गर्नुपर्छ भनिएको हो ।’