Logo
Logo
कला-सौन्दर्य

क्यान्सरसँग लड्दै फूल्न खोज्दै कोपिला

भन्छिन्– हार र जित त जीवनको एक सिक्काको दुई पाटा हुन्


1.6k
Shares

काठमाडौं । संघर्षका अनगिन्ती कथाहरु जोडिएको यात्रा गरिरहेकी छन् कोपिला गौतम । दुई–दुई पटक प्राणघातक क्यान्सर रोगसँग लड्दालड्दै पनि अहिले उनी उपचारकै क्रममा ‘मिसेस नेपाल’मा प्रतिस्पर्धा गरिरहेकी छन् । क्यान्सरलाई जितेर समाजमा फूल्न खोज्ने कोपिलाको यो आत्मविश्वास आफैंमा संघर्षपूर्ण जीवनको एक उदाहरण हो ।

रिवन इन्टरटेन्टमेन्टको आयोजनमा हुने ‘मिसेस नेपाल–२०२४’को अन्तिम प्रतिस्पर्धा यही कातिक १० गते प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । जसमा २९ जना फाइनल प्रतिस्पर्धी ताजका लागि कडा प्रतिस्पर्धा गरिहेका छन् । तीमध्येकी एक हुन् कोपिला गौतम । क्यान्सरसँग लड्दै उनी उच्च मनोवलका साथ ताज जित्ने दौडमा छिन् ।

चौथो स्टेजको ओभरियन क्यान्सर सरर्भाईबरको लडाइँ लड्दालड्दै तीन बर्षमा उनको क्यान्सर दोहोरियो । वंशाणुगत क्यार्सिनोमा क्यान्सर दोहोरिएपछि उपचारका लागि भारतको नयाँदिल्ली जानुपर्यो । नयाँदिल्लीको राजीवगान्धी क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा ६ महिनाको उपचारपछि गत अगष्टमा मात्र उनी नेपाल फर्किएकी हुन् । अहिले नेपाल क्यान्सर हस्पिटलमा फलोअपमा छिन ।

अहिले कोपिला दोश्रोपटक ब्रेस्ट क्यान्सरसँग लडिरहेकी छन् । नियतिले उनको जीवनमा परीक्षामाथि परीक्षा थोपरिहेको छ । तर, उनी भन्छिन, ‘रोग र परिस्थितिले मलाई थप बलियो बनाएको महशुस गरेकी छु ।’

केमो सकिएको दोश्रो हप्तामा ‘मिसेस नेपाल’को प्रतिस्पर्धा शुरु भयो । उनको मनमा प्रतिस्पर्धालाई लिएर धेरै प्रश्नहरु नउब्जिएका पक्कै होइनन् । मिसेस नेपालमा आफनो सहभागिताको विषयलाई लिएर सकारात्मक, नकारात्मक टिप्पणीहरुबारे । बिरामी मान्छे शारीरिक रुपमा प्रतिस्पर्धा गर्न सकिन्छ कि सकिँदैन भनेर । र, अन्त्यमा उनले सबै स्वीकार गरेर प्रतिस्पर्धामा जाने हिम्मत गरिन् । जुन सामान्य मानिसका लागि सहज थिएन ।

‘क्यान्सर पछि पनि जिन्दगी छ’ भन्ने सन्देश दिन यो मन्च रोजेकी हुँ’, उनी भन्छिन् । यस प्रतियोगितामा आफनो उपस्थितिले क्यान्सरसँग लडिरहेको सबैलाई आत्मबल बढ्ने र समाजले क्यान्सर विरामीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनेमा विश्वस्त भएर उनी उभिएकी छन् ।

उनले जीवनमा अर्को एउटा चुनौतिपूर्ण अवसरको सामना गरिन् । विदेशमा रहेका लाखौं नेपालीको दुःखसुखको पक्षमा श्रम आपवासनको चुनौतिपूर्ण बिटमा पत्रकारिता गरिन् । जसले उनलाई सिँगै नेपाल र नेपालीको रोजगार, रेमिटयान्स एवं अर्थतन्त्र र अन्तर्राष्ट्रय सम्बन्ध र श्रम आपवासनको जानफकारसम्म बनायो । ‘सुरक्षित आप्रवासनका विषयमा पनि यस मन्चबाट आवाज उठाउनेछु’ उनले थपिन् ।

गौतम यसअघि सन् २००२ को इन्टर कलेज मिस्टर एण्ड मिस ट्यालेन्ट प्रतियोगिताको प्रथम उपाधि विजेता हुन । लोक तथा दोहोरी गायनमा रुची राख्ने गौतमले दर्जनौँ गीत बजारमा ल्याएकी छन् ।

उनको जीवन यात्राको मूलमन्त्र भने आत्मबिश्वास आत्मबल हो । मिसेस नेपालको सहभागितालाई उनले चुनौती र अवसरको रुपमा लिएकी छन् । जित्छु जस्तो लागेको छ त ? भन्ने प्रश्नमा उनी भन्छिन, ‘मेरो यो मन्चमा उपिस्थति र फाइलनसम्मको यात्रा पनि एक प्रकारको जित नै मानिसकेकी छु । सफल भइन्छ भनेर मेहेनत गर्छु, हार र जित त जीवनको एक सिक्काको दुई पाटो हो । स्वीकार्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्