Logo
Logo

पश्चिम बंगाल र ओडिशामा चक्रवातको चेतावनी, तीन लाख मानिसलाई अन्यत्र सारियो


378
Shares

काठमाडौं । पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा आज चक्रवाती ‘दाना’ आँधी पुग्न सक्ने चेतावनी दिइएको छ । पश्चिम बंगाल र ओडिशाका सरकारले चक्रवात दानासँग लड्नका लागि तयारी पूरा भएको बताएको हो ।

‘दाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाएको छ । सावधानीका रूपमा पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय असोज २५ गतेसम्म बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ । आँधी बुधबार रातीदेखि बिहीबार बिहानसम्म पुरी र सागर द्वीपको बीचको तटमा पुग्न सक्ने जनाइएको छ । जसका कारण उक्त स्थानमा बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेको छ ।

पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सम्भावित रूपमा दानाबाट प्रभावित जिल्लाहरूको अवस्थाको निगरानी गर्ने जिम्मेवारी सचिव–स्तरका अधिकारीहरूलाई सुम्पिएका बीबीसी समाचारमा उल्लेख छ । उक्त क्षेत्रमा करिब एक हजार राहत शिविर खोलिएको छ । विद्यालय र सरकारी भवनमा जनताका लागि बास र खानाको व्यवस्था गरिएको छ ।

ओडिशाका राजस्व र प्रकोप व्यवस्थापन मन्त्री सुरेश पुजारीले पर्यटकलाई आगामी चार दिनका लागि सबै होटल बुकिङ रद्द गर्न भनेका छन् । मंगलबार पुरीबाट तीन हजारभन्दा बढी पर्यटकलाई सकुशल घर पठाइएको उनले बताए । केहीलाई बुधबार बिहान पनि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्