Logo
Logo

वैद्यखानाबाट ४० किसिमका औषधि उत्पादनको तयारी


189
Shares

काठमाडौँ । सरकारले सिंहदरबार वैद्यखानाले ४० किसिमका औषधि उत्पादनको तयारी गरेको छ।

बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पौडेलले सिंहदरबार वैद्यखानामा हाल १३ किसिमका आयुर्वेद औषधि उत्पादन भइरहेको र ४० किसिमका औषधिको उत्पादनको तयारी गरिएको बताएका हुन्।

उनले सय दिनमा आफूले संघीय अस्पतालका उपकरणहरूको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी मर्मत शुरु गरेको बताए। शहीद गंगालाल हृदयरोग केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र कान्ति बाल अस्पतालका बिग्रिएका उपकरणको मर्मत सम्भार भइरहेको बताए।

उनले हालसम्म ४ सयभन्दा बढी सामग्रीको मर्मतसम्भार भएको तथा मर्मतसम्भार गर्नुपर्ने आवश्यक उपकरणको इन्भेन्ट्री तयार भएको जानकारी दिए। मन्त्री पौडेलले औजार उपकरणको सदुपयोग एवं व्यवस्थापनका लागि कार्ययोजना तयार गर्न एक उच्चस्तरीय कार्यदल गठन भई काम भइरहेको बताए।

मन्त्री पौडेलका अनुसार औषधि ऐनको प्रतिस्थापन विधेयक र एकीकृत स्वास्थ्य सेवा ऐन तर्जुमाका लागि अवधारणा पत्र स्वीकृतिका लागि कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन संशोधन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐनमा समय सापेक्षित संशोधनलाई मन्त्रिपरिषद्‌मा स्वीकृतिका लागि पठाउनुपूर्व सम्बन्धित निकायहरूमा राय/सहमतिका लागि पठाइएको र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा रणनीति तर्जुमाका लागि निर्देशक एवं प्राविधिक कार्यसमिति गठन भई कार्य प्रारम्भ भएको छ।

मन्त्री पौडेलले अन्ताराष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच त्रिपक्षीय सम्झौता गरी सेवा प्रारम्भ भएको बताए।

स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तार सहितको पुनर्संरचनाको प्रारूप तयार गर्न डा. शम्भु आचार्यको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन भई समितिबाट कार्य भइरहेको बताए।

मन्त्री पौडेलले सय दिनभित्र आफूले वीर अस्पतालमा १५ शय्याको जलन उपचार वार्ड पुनः सञ्चालन गरी सघन जलन उपचार सेवा निःशुल्क शुरुवात गरेको, सातै प्रदेशबाट हुने गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल वीरगञ्ज, कीर्तिपुर अस्पताल कीर्तिपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भेरी अस्पताल नेपालगञ्ज, सुर्खेत प्रादेशिक अस्पताल, वीरेन्द्रनगर र सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकका लागि कस्मेटिक बाहेक सघन जलन उपचार निःशुल्क हुने व्यवस्था मिलाएको बताए।

प्रतिक्रिया दिनुहोस्