Logo
Logo

ओडिशा, पश्चिम बंगाल र झारखण्डमा ‘हाई अलर्ट’, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो


630
Shares

काठमाडौं । भारतको ओडिशास्थित तटीय क्षेत्रमा चक्रवाती आँधी ‘दाना’को प्रभाव शुरू भएको छ । ओडिशाको लगभग आधा जनसंख्यामा दानाको प्रभाव दिखएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ओडिशाका १४ जिल्लाका १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

पश्चिम बंगालको तटीय क्षेत्रमा पनि तीव्र हावा चलिरहेको छ । दानाको प्रभावले ओडिशा र पश्चिम बङ्गालका तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ भने कडा हावा चलिरहेको छ । प्रकोपले गम्भीर रूप लिने सम्भावनालाई मध्यनजर गर्दै दुवै प्रदेशका सरकारी संयन्त्र उच्च सतर्कतामा छ ।

समाचारका अनुसार आँधीका कारण आज शुक्रबर बिहानसम्म ६ लाख बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
कोलकाताको नेता सुभाषचन्द्र बोस एयरपोर्टमा हवाई सेवा अवरुद्ध भएको छ । शहरले वर्षा र तेज हावाको अनुभव गरिरहेको छ । भुवनेश्वरको बिजु पटनायक विमानस्थल बन्द गरिएको छ । भुवनेश्वरको अम्बेडकर बस स्ट्यान्डमा सवारी आवागमन रोकिएको छ ।

भारतीय रेलवेले यस क्षेत्रमा चल्ने करिब १५० रेलहरू रद्द गरेको छ । दुवै राज्यका प्रमुख स्टेशनहरूमा यात्रुहरूको भीड लागेको छ । पश्चिम बंगाल पनि उच्च सतर्कतामा छ । राज्यका धेरै तटीय जिल्लाहरूबाट हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

पश्चिम बंगालमा झण्डै एक हजार राहत शिविर खोलिएका छन् । यस क्षेत्रका विद्यालय र सरकारी भवनमा जनताका लागि बास र खानाको व्यवस्था समेत गरिएको छ । पश्चिम बङ्गाल सरकारले एनडीआरएफ र एसडीआरएफका २२ कम्पनीहरू तैनाथ गरेको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

ओडिशा र पश्चिम बंगालको दाना प्रभावित क्षेत्रमा अक्टोबर २६ सम्म स्कूल र कलेज बन्द राख्न निर्देशन दिइएको छ । दुवै राज्यमा राहत र उद्धारका लागि व्यापक व्यवस्था गरिएको छ । बंगालको सुन्दरवन क्षेत्रमा मानिसहरूलाई साना डुङ्गा चलाउन प्रतिबन्ध लगाएको छ । सबै घाट बन्द गरिएका छन् ।

हाल ओडिशाको भद्रक जिल्लामा दानाको प्रभाव बढी देखिएको छ । तीव्र हावाहुरीका कारण धेरै ठाउँमा रुखहरू ढलेका छन् भने सडक अवरुद्ध भएका छन् । दानाको डरलाई ध्यानमा राख्दै झारखण्डका केही जिल्लामा अलर्ट जारी गरिएको छ । शुक्रबार झारखण्डको कोल्हान क्षेत्रहरू– पश्चिम सिंहभूम, सराइकेला–खरसावन र पूर्वी सिंहभूममा ओरेन्ज अलर्ट जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्