Logo
Logo

‘लेनिन र आजको समय’ विषयक विचार गोष्ठी सप्पन्न


सूर्य बिसी

315
Shares

दाङ । लेनिन स्मृति शतवार्षिकी समिति, दाङको आयोजनामा शनिबार घोराहीमा विचार गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा लेनिन स्मृति शतवार्षिकी समिति केन्द्रीय आयोजक समितिका संयोजक निनु चापागाईंले लेनिनवादको महत्व आजका समयमा पनि निकै महत्वपूर्ण रहेको चर्चा गर्दै लेनिनको अगुवाईमा भएको अक्टुबर क्रान्ति र त्यसका परिणाहरुलाई स्विकार गर्ने तर त्यसका लागि लेनिन जुन प्रक्रियाबाट गुज्रिए, त्यसलाई इन्कार गर्ने प्रवृत्ति व्यापक रहेको बताए ।

उनले भने, ‘लेनिनले मानवजातीले आर्जन गरेको समस्त ज्ञानरासीले आफूलाई समृद्ध नतुल्याएर असल कम्युनिष्ट बन्न सकिन्न भन्नुभयो तर नेपालका नेताहरु बढि पढेर बिग्रन्छ भन्ने अभिव्यक्ति दिंदै हिँड्छन् ।’ चापागाईंले माक्र्सवादलाई संसारभर फैलाउने काम अक्टुबर क्रान्तिले नै गरेको उल्लेख गर्दै, माक्र्सवादको सृजनात्मक विकासको गर्नमा लेनिन एउटा अभूतपूर्व प्रतिभा रहेको कुरा व्यक्त गरे ।

त्यसैगरि अर्का वक्ता लेनिन स्मृति शतवार्षिकी केन्द्रीय आयोजक समितिका सदस्य डा.अमर गिरीले अहिलेको समय सबैभन्दा बढि लेनिनलाई सम्झिनुपर्ने समय भएको चर्चा गर्दै उनीमाथि बुर्जुवाहरुबाट मात्र नभएर कम्युनिष्ट शिविरबाटै पनि आक्रमण हुने गरेको बताए ।

उनले त्यस प्रवृत्तिका विरुद्ध पनि क्रान्तिकारीहरुले प्रतिवाद गर्नुपर्ने बताउए । गिरीले अगाडि भने, ‘वर्गीय समाजमा राज्य, लोतन्त्र सबै कुरा वर्गीय हुन्छन्, वर्गीय अधिनायकत्व पनि हुन्छ । राज्य सबैको हुँदैन ।’

कार्यक्रममा प्रमोद धितालद्वारा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिवालय सदस्य शशिधर भण्डारीले पूँजीवादको अधिरचनामा कैयन परिवर्तनहरु आएको तर साम्राज्यवादको शोषणकारी चरित्र उही रहेको बताए । उनले भने, ‘पूँजीवादले शोषणका रुप बदल्यो तर कम्युनिष्टहरुले प्रतिरोधको रुप बदल्न सकेनन् ।’

त्यस्तै, कार्यपत्रमाथि टिप्पणी गर्दै नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य डा.शुरामणि बेलबासेले कार्यपत्रको संकेत नयाँ पार्टी चाहिन्छ भन्ने रहेको तर त्यो सम्भव नभएको बताए ।

अर्का, टिप्पणीकार नेकपाका केन्द्रीय सदस्य सविन सीले नेपालमा नवउदारवादी अर्थराजनीतिलाई बोकेर समाजवादको नक्कली गीत गाउँने प्रवृत्ति हावी भएको चर्चा गर्दै कम्युनिष्ट हुनका लागि कम्युनिष्ट विचार, राजनीति र दर्शन चाहिने कुरा व्यक्त गरे ।

कार्यक्रममा अर्का टिप्पणीकार नेकपा माओवादी केन्द्र, दाङका सचिव विश्वराज आचार्यले लेनिनवादलाई केबल बहसका विषय बनाएर नपुग्ने र त्यसलाई कार्यान्वयको विषय पनि बनाउनुपर्ने बताए । कार्यपत्रमाथि टिप्पणी गर्दै राष्द्रिय जनमोर्चाका केन्द्रय सदस्य गणेश आचार्यले लेनिनवादका योगदानहरुका मात्र चर्चा नगरेर यो आजका सन्दर्भमा पनि किन नयाँ छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिव नारायणप्रसाद शर्मा र अग्रज कम्युनिष्ट नेता रश्मीराज नेपालीले शुभकामना मन्तब्य दिएका थिए भने वासुदेब गौतमका पनि उपस्थिति रहेको थियो ।

लेनिन स्मृति शतवार्षिकी समिति, दाङका संयोजक प्रमोद धितालको अध्यक्षतमा भएको कार्यक्रममा आयोजकको तर्फबाट रामप्रसाद जैसीले स्वागत मन्तब्यमार्फत सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको अन्त्यमा विकास गौतमले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्