काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारबाही हुनुपर्ने बताएका छन् । आइतबार एमालेले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पोखरेलले अनियमितता गर्नेलाई कारबाही गर्नुपर्नेमा पार्टी दृढ रहेको बताएका हुन् ।
केही कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोसिस भइरहेको भन्दै उनले देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताए ।
सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लगाउने गरेको उल्लेख गर्दै उनले कांग्रेस र एमालेका नेताहरूमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पारे ।
पछिल्लो समयमा सहकारी ठगीको अनुसन्धान गर्न रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनीमाथि पोखरामा छानबिन भइरहेको छ ।
आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भएपनि मुलुकमा संकट परेका बेला ठूला दलहरू एक हुनुपरेको उनको भनाइ छ । नेता पोखरेलले अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य नहुने उल्लेख गरे ।