काठमाडौँ । नेपालमा अवतरण अनुमति सकिएको थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ ।
जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
बैंककबाट काठमाडौँका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो । उक्त जहाज २ बजे काठमाडौँमा अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति सकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरण गर्ने अनुमति दिएन । त्यसपछि जहाज काठमाडौँमाथिको आकाशमा होल्ड भयो ।
एयर एसियाको अवतरण अनुमति शनिबारसम्म मात्रै थियो । आइबारदेखि ‘विन्टर सेड्युल’ लागु भएकाले उक्त जहाजलाई विमानस्थलले काठमाडौँमा अवतरण गर्न दिएन ।