Logo
Logo

युगान्डामा इन्धन ट्याङ्कर विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो


189
Shares

एजेन्सी । युगान्डाको राजधानी कम्पाला नजिकै गत हप्ता भएको इन्धन ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको सरकारले आइतबार बताएको छ ।

पूर्वी अफ्रिकाको यो गरिब देशले विगत केही वर्षमा यस्तै धेरै विपत्ति देखेको छ । यहाँ मानिसहरू सडक दुर्घटनामा परेका ट्याङ्करहरूबाट इन्धन चोर्न दौडने गर्छन् ।

सञ्चारमन्त्री गडफ्रे काब्याङ्गाले कम्पालाबाट करिब २५ किलोमिटर उत्तरमा रहेको किगोग्वा शहरमा मङ्गलबार भएको ‘विनाशकारी दुर्घटना’ मा ‘घटनास्थलमै ११ जनाको मृत्यु भएको’ विज्ञप्तिमा बताए ।

‘किरुद्दु अस्पताल र बोम्बो सैनिक अस्पतालमा थप १३ जनाको मृत्यु भएपछि कुल मृत्यु सङ्ख्या २४ पुगेको छ’, उनले भने, ‘केही मृतक पहिचान गर्न नसकिने गरी जलेकाले प्रहरीले डिएनए परीक्षणमार्फत मृतकहरूको पहिचान गर्न कडा मेहनत गरिरहेको छ ।’

ट्याङ्कर राजधानीबाट उत्तरी युगान्डाको गुलुतर्फ करिब छ सय ५० किलोमिटरको यात्रामा निस्केको थियो तर बाटोमै पल्टेर आगो लागेको थियो । सरकारका अनुसार चालक अझै फरार छन् । प्रसारक एनटिभीका अनुसार धेरै मानिस अझै अस्पतालमा छन् ।

यो घटना अक्टोबर १५ मा उत्तरी नाइजेरियामा भएको इन्धन ट्याङ्कर विस्फोटमा एक सय ७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि भएको हो ।

सन् २०१९ अगस्टमा पश्चिमी युगान्डाको व्यस्त क्याम्बुरा शहरमा एउटा इन्धन ट्रक अन्य सवारी साधनमा ठोक्किएर विस्फोट हुँदा १९ जनाको मृत्यु भएको थियो ।

सन् २००२ मा क्याम्बुराबाट ५० किलोमिटरभन्दा कम दूरीमा रहेको रुटोटोमा एउटा तेल ट्रक बसमा ठोक्किँदा ७० जनाको मृत्यु भएको थियो । त्यस्तै सन् २०१३ मा कम्पालामा एउटा इन्धन ट्रक पल्टिएर विस्फोट हुँदा ३३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्