काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा एनआरएनएका विषयलाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।
गैरआवासीय नेपाली दिवस वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण लाई सोमबार सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषद्बाट केही दिनपछि पारित हुँदैछ । तपाईहरुको केही कुरा राख्न सकिन्छ ।’
मन्त्री चौधरीले युवाहरु विदेशिने क्रम बढेको बताए । ‘जनसंख्याको ४२ प्रतिशत युवा छ । तीनै तहमा ४५ प्रतिशत युवाहरु राजनीतिमा काम गरिरहेका छन् । त्योभन्दा बढी युवाहरु दिनप्रतिदिन विदेश पलायन भइरहेका छन् । कोही पढ्न, कोही रोजगारीको सिलसिलामा गइरहेका छन् । १२ कक्षा पास गरिसकेपछि म विदेश जान्छु भन्ने धारणा छ । स्नातक तहमा विद्यार्थी अभाव छ । निकट भविष्यमा शिक्षकहरुको अभाव हुने अवस्था आउँदैछ । विदेशी शिक्षकहरु ल्याएर पढाउनुपर्ने बाध्यता देखिँदैछ,’ उनले भने ।
यद्यपि नेपाली युवाहरु आइटीमा अगाडि बढेको र नेपालमै खर्ब हाराहारी आम्दानी गर्नु सुखद भएको बताए । मन्त्री चौधरीले विश्वका विभिन्न मुलुकमा रहि फरक फरक क्षेत्रमा हासिल गरेको अनुभव, क्षमता, पुँजी मातृभूमिको विकासमा लगानी गर्ने डायस्पोराको सोच उदाहरणीय भएको बताए ।
‘डायस्पोराले उद्यमशिलता, स्थानीय अर्थतन्त्रको विकासमा पनि मद्दत पुर्याउन सक्छ । यसका लागि राज्यले सहज लगानीको वातावरण, कर छुट नागरिकताको सहज व्यवस्थापन गर्नुपर्छ,’ उनले भने । भाषा, सस्कृति, उत्पादन, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायको क्षेत्रमा डायस्पोराका युवालाई परिचालन गर्न सकिने र अनुसन्धान नवप्रवर्तन क्षेत्रमा योगदान लिन सकिने मन्त्री चौधरीले बताए ।
मन्त्री चौधरीले खेलकुदका पूर्वाधारको विकास, ज्ञानको परीक्षण र आदान प्रदानमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो । यसका लागि राज्यले नीतिगत कानुनी र संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाए । ‘नेपालमा खेलकुद पूर्वाधारहरु छैन । एनआरएनका साथीहरुले यसमा ध्यान दिनुहोला । एनआरएनका लगानीकतालाई खेलकुदमा, पूर्वाधार विकासमा, तालिममा सहयोग गर्न आह्वान गर्दछौं,’ उनले भने ।
मन्त्री चौधरीले निकट भविष्यमा खेलकुद सद्भावना दूत एनआरएनकै तहबाट राख्न लागेको र चाँडै मन्त्रिपरिषद्बाट निर्णय गरिने जानकारी दिए । पूर्वकानुनमन्त्री एवं एमाले नेता पदम गिरीले नयाँ पुस्तालाई नेपालको राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस योजना जरुरी रहेको बताए । ‘यसमा विलम्बन नगरी छिटोभन्दा छिटो नीतिहरु ल्याउनुपर्छ । राज्यले गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने ।
प्रवासी नेपाली युवाहरुले हासिल गरेको ज्ञान, सीप, क्षमता, पुँजी भित्र्याउन वातावरण बनाउन राज्यका तर्फबाट छिटो र फराकिलो दायराका साथ काम गर्नुपर्ने भन्दै उहाँले त्यो हुन नसकेको बताए । ‘राज्यका अड्चनका कारण दोस्रोपटक फर्केर आउन समय लाग्ने अवस्था छ । यसमा राज्य गम्भीर हुन जरुरी छ,’ उनले भने ।
सरकारले संवेदनशील भएर योजनाहरु बनाउनुपर्ने, थिंक ट्यांकहरुबाट अध्ययन गराएर युवाहरु नेपालको समृद्धिमा जोड्न बृहत अध्ययन गर्नुपर्ने गिरीले बताए ।
नेपालको शिक्षा क्षेत्रमा प्रवास रहेको गुणस्तरीय पुस्तालाई जोड्न योजना बनाउन जरुरी रहेको बताउँदै यसले सबै क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने बताए । आफू स्वास्थ्यमन्त्री हुँदा प्रवासमा रहेका युवाहरुसँग छलफल गर्दा ६ महिनासम्म स्वयंसेवक भएर काम गर्न तयार छौं भनेर आएको भन्दै यसमा डायस्पोरालाई जोड्न राज्य चुकेको बताए । यो कुरामा प्राथमिकताका साथ ध्यान दिनुपर्ने उनको जोड थियो ।
पर्यटनका लागि नेपालको उच्च सम्भावना रहेको भन्दै उनले बुद्ध जन्मेको देश भनेर चिनाउन अपिल गरे । ‘सगरमाथाको देश, हिमचुलीहरुको देश, आराध्य देव भगवान पशुपतिनाथको देश भनेर प्रचार गर्न सकिएको छैन । त्यसमा तपाईहरु लाग्नुस् । डायस्पोरा एम्बास्डर हो । प्रवर्द्धनमा राज्यले उपयोग गर्नुपर्छ’ उनले भने ।
आइटी सेक्टरमा पनि डायस्पोराले थुप्रै प्रगति गरेको भन्दै यसलाई अझै विकास गर्नुपर्ने धारणा राखे । आधुनिक कृषिमा डायस्पोरालाई जोड्न नीतिहरु अनुकूल नभएको भन्दै नीतिमा परिमार्जन गरेर सम्भावनाहरु अगाडि बढाउनुपर्ने बताए ।
नेपालमा उत्पादन भएका गार्मेन्ट, कृषि उपजजस्ता वस्तुहरु विश्व बजारमा पुर्याउन एनआरएनएको भूमिका हुने उनको भनाइ थियो । विदेश बसाइँसराइ स्वभाविक भएको र मान्छे अवसर खोज्दै हिँड्नु स्वभाविक भएको उनले बताए । संसारका युवा नेपाली भित्र्याउन र उनीहरुको पुँजी भित्र्याउन सोच्नुपर्नेमा गिरीले जोड दिए ।
एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि मानव सभ्यताका लागि बसाइँसराइ नियमित प्रक्रिया भएको बताइन् । राष्ट्र निर्माण अगाडि सकारात्मक धारणा विकास गर्नुपर्ने उनको भनाइ छ ।
‘पोजेटिभ इटिट्युड निर्धारण गर्न सकियो भने कसरी राष्ट्र निर्माण गर्ने स्पष्ट हुन्छ,’ उनले भनिन् । सिस्टम ब्रेक गरेर नेपालीहरु विश्वभर फैलिएको भन्दै बेटर सिस्टमका लागि बल लगाउनुपर्ने बताइन् । यसका लागि पनि सकारात्मक धारणा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘नेसल बिल्डिङभन्दा अगाडि परिवारको युनिटीको विकास गरौं । सबैले दशैमा एकै ठाउँमा टिका लाउने वातावरण बनाउ । जसले पोजेटिभ भाइब्स ल्याउँछ । त्यसपछि राष्ट्र निर्माणको कुरा आउँछ,’ उनले भनिन् ।
बाध्यताले छोराछोरी विदेश पठाउने र गएकाहरु देश आइदिए हुन्थ्यो भन्ने धारणाको तादाम्यता मिलाउन जरुरी रहेको उनले बताइन् । झाँक्रीले विमानस्थलको भिडको स्वभाविक भएको बताइनु् । ‘२५ सय मान्छे जाँदा २५ सय मान्छे लिएरै आउँछ । बिजनेस हो । देशै रित्तियो भन्ने होइन,’ उनले भनिन् । नेपालमा रिभर्स माइग्रेसनको बेला भइनसकेको उनको भनाइ थियो ।
‘रिसिभ कन्ट्रीको अवस्था र तपाइहरु आउने अवस्थाको तालमेल नभई रिभर्स माइग्रेसन हुँदैन । यद्यपि बहस जारी राखौं । यदि नेपालमा बृहत लगानी भयो । त्यसबाट रोजगारी सिर्जना भयो । अर्थतन्त्र भाइब्रेन्ट जनशक्तिहरु आउने कुरा होला । अहिले त्यो अवस्था छैन ।’ उनले एनआरएनलाई च्यारिटीभन्दा धेरै मुनाफा हुने कामहरु गर्न सुझाव दिए ।
एनआरएनको पहिचानसहित सम्भावना भएको क्षेत्रमा साझा रुपमा लगानी गरिएमा रोजगारी सिर्जना हुने र यसले युवाहरुलाई आकर्षित गर्ने झाँक्रीको भनाइ थियो । ‘यो रियालिटीमा काम गर्यौ भने अबको १०÷१५ वर्षमा अवस्था परिवर्तन हुनसक्छ,’ उनले भनिन्, ‘कानुनका कुराहरु, भावनाका कुराहरु गर्दै जाऊ ।’
प्रवासमा नेपालीहरु विभाजित हुन नहुने झाँक्रीको भनाइ थियो । ‘डायस्पोराहरुले नेपालको रिप्रजेन्ट गरौं । पार्टी, जाति हेरेर नबसौं,’ उनले भनिन्, ‘अस्ति प्रधानमन्त्रीको अमेरिका भ्रमणमा जे भयो त्यो राम्रो भएन । कुनै पार्टीको होइन देशको प्रधानमन्त्री हो । हरेक नेपालीको प्रतिनिधित्व हो । खिसिट्युरी हुनु सम्पूर्ण नेपालीकै अपमान हो । यसमा ध्यान दिउ । पोजिटिभ एटिट्युटमा ध्यान दिउ । लगानीको वातावरण बनाउ । यसो भयो भने सेकेण्ड जेनेरेसन नेपालमा ल्याउन सकिन्छ ।’
कांग्रेस नेता एवं कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विमानस्थलको भिड खुसीको कुरा भएको बताए । ‘कोनोमिक मोबिलिटीलाई सकारात्मक रुपमा लिँदैछौ कि नेगेटिभ रुपमा ?’ उनले प्रश्न गरे । नेपालको हरेक सुखदुखमा साथ दिने प्रवासी नेपालीलाई देशमा आउँदा गरिने व्यवहारमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।
कार्कीले दोस्रो र तेस्रो पुस्ताका नेपालीको सीप र पुँजीलाई भित्र्याउन राज्यले ढोका खोल्नुपर्नेमा जोड दिए । ‘७० लाख नेपालीका सन्तानलाई नेपालको विकासमा ल्याउन सकियो भने समृद्धिमा टेवा पुग्छ,’ उनले भने ।
एमाले युवा नेता अब्दुस मियाले बसाइँसराइ प्राकृतिक प्रक्रिया भएको बताए । निरंकुश शासनमा पासपोर्ट नपाइने अवस्थामा अहिले नेपालीहरु संसारभर प्रतिस्पर्धाको ठाउँमा पुगेको उनको भनाइ थियो । विकासशील देशमा स्तरोन्नतीका लागि नेपाललाई बनाउन दक्ष युवा जनशक्ति चाहिएको बताए ।
‘प्राविधिक, आर्थिक विकास, जागिर र उद्यम सिर्जना गर्न सक्ने, संसारको विकास र प्रविधिसँग सञ्चार र प्रतिस्पर्धा गर्नसक्ने र त्यहीअनुसार नेपाललाई दौडाउन सक्ने जनशक्ति चाहिएको छ,’ उनले भने, ‘देशमै बसेका युवालाई बढी माया लाग्ने र बाहिर गएर बस्नेलाई कम माया लाग्ने हुँदैन । उतिकै माया र प्राथमिकतामा राख्छौं । विभिन्न बाध्यताले युवाहरु त्यहाँ पुगेका हुन् ।’
नेपालको विकासमा कसरी जोडिन सक्ने, हाम्रो भूमिका के हुने भनेर डायस्पोराका नेपाली युवामा भेटेको उनले बताए । नेपालले श्रम र लगानी जुन आकारमा विकास गर्न सक्थ्यो त्यसमा अझै काम गर्नुपर्ने उहाँको भनाइ थियो । यसले आर्थिक विकासमा टेवा पुग्ने उनले धारणा राखे ।
नेपालको आर्थिक विकासका लागि कुनै ठाउँ छ भने त्यो टेक इन्टरप्राइजेज भएको उनले बताए । थोरै मेहनत गर्यौ भने संसारसँग प्रतिस्पर्धा गर्न खालको टेक फर्म विकास गर्न सकिने भन्दै उनले यसमा ठूलो सम्भावना रहेको बताए ।
अर्को पर्यटन प्रवर्द्धनमा डायस्पोराका युवाहरुको भूमिका हुने उनले बताए । ‘जति पनि डायस्पोरामा छन्, उहाँहरु टुरिजम एम्बास्डर बन्न सक्नुहुन्छ,’ उनले भने, ‘तपाईहरुले आफ्नो अफिसमा कलिङलाई भन्न सक्नुहुन्छ । सोसल मिडियामा नेपाल घुम्न जाउ भन्न सक्नुहुन्छ । यसरी प्रवर्द्धन गर्न सकिन्छ ।’ नेपाल बनाउने र अघि बढाउने दायित्व नेपाल र बाहिर बस्ने सबै नेपालीको भएकाले मिलेर जानुपर्ने मियाले बताए ।
एनआरएन नेपाली युवा समिरा केसीले आधा नेपाली र आधा विदेशी भएर बाँचेका आफूहरुलाई एनआरएनएले नेपालसँग जोड्ने काम गरेको बताए । प्रवासी नेपाली युवाहरु मातृभूमिलाई आफ्नो सिप क्षमता सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।
एनआरएन युवा उपाध्यक्ष रोशन थापाले नेपाली जनशक्ति पठाउने र उनीहरुको सीप क्षमता र पुँजी ल्याउने दोहोरो हुनुपर्ने बताए । नयाँ पुस्तासँग भोट र नोटको अपेक्षा नगर्न उनले सुझाव दिए । राष्ट्र निर्माणमा प्रवासी युवाहरुको एकीकरण सत्रको सञ्चालन एनआरएनए युरोप संयोजक प्रसुना कँडेलले गरेका थिए ।