Logo
Logo

सरकारी जग्गा व्यक्तिलाई , मालपोत र नापीका हाकिम अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ जेठ
करिब २८ रोपनी सरकारी जग्गा छुट दर्ताको नाममा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालय खोटाङका तत्कालिन प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाको १० वर्षपछि मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।


खोटाङ साविक दिक्तेल गा.वि.स. वडा नम्बर ६ को सरकारी जग्गा व्यक्ति नाममा दर्ता गर्ने तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसहितका व्यक्तिविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । आयोगले तत्कालिन नापीका प्रमुख सियाराम चौधरी, मालपोतका कर्मचारीहरु कटक बहादुर खत्री, भिम खत्री, टेक खड्का र चन्द्र कार्कीविरुद्ध मुद्दा दायर गरेको हो । त्यस्तै कर्मचारीलाई प्रभावमा पारेर सरकारी जग्गा आफ्नो नाममा ल्याउने राजेन्द्र कुमार थापा र राम कुमार थापाविरुद्ध समेत मुद्दा दायर भएको छ ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार २०६७ सालमा कित्ता नम्बर १३७ र ८१५ को छुट जग्गा दुई व्यक्तिको दर्ता गरिएको थियो ।
छुट जग्गा दर्ता समितिको अध्यक्षको रुपमा तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालले सरकारी पर्तीको जग्गा बदनियत पूर्वक दर्ता गरेको आयोगले जनाएको छ। विभागीय सहमति नै लिएको देखाएर सहमति नै नलिई उनले निर्णय गरेको आयोगले जनाएको छ । मालपोत कार्यालय, खोटाङका तत्कालीन मालपोत अधिकृत कटक बहादुर खत्रीले साविक फिल्डबुकमा जङ्गल र पर्ती जनिएको सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्न मिल्ने कुनै आधार नहुँदा नहुँदै सरकारी र सार्वजनिक जग्गाहरु व्यक्तिको नाममा दर्ता गराउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्