Logo
Logo

कटारी क्षेत्रमा सिमेन्ट उद्योगका टिपरको आतंक

टिपर आतंक नरोकिए आन्दोलन गर्ने स्थानीयको चेतावनी


1.3k
Shares

कटारी (उदयपुर) । सिमेण्ट उत्पादनमा प्रयोग हुने ढुङ्गा बोक्ने टिपरका कारण उदयपुरको कटारी क्षेत्रको जनजीवन आतंकित बनेको छ ।
सडकको क्षमताभन्दा तेब्बर बढी ढुङ्गा बोकेर अनियन्त्रित रूपमा हुईँकिँदा निम्तिन सक्ने सम्भाबित दुर्घटना र ध्वनी प्रदुषणका कारण कटारी– मिर्चैया सडक खण्ड आसपासका बासिन्दाको दैनिक जनजीबन प्रभाबित बन्न पुगेको हो । यस क्षेत्रका देबिधाप, हडैया, बलिया, गिद्दबर, सिमानपुर, कल्याणपुर, ददरिया, खोक्सा, गराँस र बेलसोतबासी आतंकित बनेका छन् ।

टिपरहरूले १० टन क्षमताको उक्त सडकमा ३६ टनसम्म ढुङ्गा ढुवानी गर्दै आएका छन् । गिद्वबरका स्थानिय युवा खेटप्रसाद अधिकारी (रामु) भन्छन्, ‘राती ८ बजेपछि सडक क्षमताभन्दा तेब्बर बढी सिमेण्ट ढुङ्गा बोकेका टिपरहरू अनियन्त्रित रफ्तारमा कुदाइन्छ । टिपर हिँड्न थालेपछि सडकमा पैदल हिँड्न डरमर्दो हुने गरेको छ भने टिपरको आवाजले बालबालिका र बृद्वबृद्वा निदाउनै सक्दैनन् ।’

हरेक रात एक हजार बढी ढुङ्गा बोकेका टिपर कटारी–मिर्चैया सडक खण्डमा चल्दैआएको खेटप्रसादले जानकारी दिए । उक्त सडक खण्डमा मिर्चैयास्थित शौर्य र मारूती सिमेण्ट उधोगका ढुङ्गा बोक्ने टिपर चल्दै आएको बर्षौँ भयो ।

पछिल्लो समय कसमस सिमेण्ट उधोगको ढुङ्गा पनि यहीबाटो हुँदै ढुवानी गरिँदै आएको छ । यी सिमेण्ट उद्योगहरूले क्षमताभन्दा तेब्बर बढी ढुङ्गा ढुवानी गराउँदा कटारी–मिर्चैया सडक खण्डको पर्ने गराँस–बेलसोत र बेलसोत –मिर्चैया चुरेक्षेत्रको सडक सँधै क्षतबिक्षत बन्दा बर्षातको समयमा सबारीसाधनहरू चल्न समस्या हुने गरेको छ भने यात्रुहरूले जोखिमयुक्त यात्रा गर्नु परेको छ ।

यस सडकखण्डमा बिगतदेखि नै ढुङ्गा बोक्ने टिपरहरूको मनोमानि चलिरहँदा सम्बन्धित निकाय भने मौन छन्, किन होला ? हप्ता दिनअघि हाजिर भएकी इलाका प्रशासन कार्यालय, कटारी प्रमुख कोपिला राईले आफू भर्खरै सरूवा भएर आएकाले यसबारे कुनै जानकारी नभएको बताइन् ।

सडकको क्षमताभन्दा बढी ढुवानीमा रोक लगाउने बताउँदै प्रमुख राईले भनिन्, ‘बिगतमा के भएको थियो थाहा भएन अब कसैको मनोमानि चल्न दिनेछैन । जनताले केही दीनमै कानुनी राज्यको महशुस गर्न पाउने छन् ।’

कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले सिमेण्ट उद्योगहरूका ढुङ्गा बोक्ने वैकल्पिक मार्ग बन्न नसक्दा समस्या झेल्नुपरेको बताए । मेयर श्रेष्ठले भने, ‘सिमेण्ट उद्योगको ढुङ्गा बोक्न खसिबास हुँदै बैकल्पिक मार्ग खोल्ने उधोग र नगरपालिकाबिच सहमती भएको छ ।’ वैकल्पिक सडक निर्माणका लागि १२ लाख खर्चिएर डिपिआर बनिसकेको बताउँदै मेयर श्रेष्ठले भने, ‘वैकल्पिक मार्ग निर्माणका लागि ९२ करोड लागतको स्टमिट गरिएको छ । बजेटका लागि उधोगीहरूले पहल गर्नुपर्छ ।’

२ हजारलाई रोजगार

सिमेण्ट उत्पादनमा प्रयोग हुने ढुङ्गा ढुवानी गर्दै आएका टिपरहरूले कटारी क्षेत्रका २ हजारलाई रोजगारी प्रदान गरेको मेयर श्रेष्ठले जानकारी दिए । ढुङ्गा ढुवानीमा प्रयोग भएका धेरैजसो टिपर कटारी नगरबासीकै रहेको बताउँदै मेयर श्रेष्ठले भने, ‘टिपरलेमात्रै प्रत्येक आर्थिक बर्ष कटारी नगरपालिकामा दुई करोड रूपैयाँ भित्रिदै आएको छ ।’

कटारी–मिर्चैया सडक खण्डमा सिमेण्ट उत्पादनका लागि प्रयोग हुने ढुङ्गा ढुवानी गर्ने टिपरहरूले नगरबासीलाई रोजगार सिर्जना गरेर नगरको अर्थब्यवस्थालाई चलयमान तुल्याएपनि सडक आसपासको जनजीवन आतङ्कित र त्रसित बनाउँदै आएकालाई सामान्य रूपमा लिनु नहुने स्थानीयको भनाइ छ ।

सडक क्षमताभन्दा तेब्बर बढी ढुङ्गा बोकेर रातबिरात अनियन्त्रित रूपमा हुईँकिदै आएका टिपरका कारण मिर्चैया–कटारी सडकखण्ड सँधै जिर्ण हुँदै आएको यथार्थ पनि भुल्नु नहुने नागरिकको सल्लाह र सुझाव छ ।

टिपरले झण्डै उडाएन घर

यसैबिच गएराती ढुङ्गा बोकेको टिपर अनियन्त्रित भएर सडक तल खस्दा कटारी, हडैयाका प्रेम धामीको घर भत्कनबाट जोगिएको छ ।

शौर्य सिमेण्ट उद्योगको ढुङ्गा बोकेर मिर्चैया तर्फ जाँदै गरेको ना २ ख ३३ ९४ नम्बरको टिपर हडैयास्थित सडक छेउमा रहेको धामीको घर छेउमा झरेको हो । ढुङ्गा बोक्ने टिपरहरूको मनोमानि चलिरहे पनि ट्राफिक प्रहरीले शंकास्पद मौनता साँध्नुलाई कटारीबासीले अर्थपुर्णरूपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्