काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले बेलाबखत जवानहरूको राशन नियमित छ कि छैन भनेर अनुगमन गर्ने गरेको छ । मुख्यालयको अनुगमन भने विभिन्न तालिम केन्द्रहरूलाई लागू भएको छैन । पछिल्लो पटक सशस्त्र प्रहरीका तालिम केन्द्रमा राशनमा अनियमितता हुने गरेको पाइएको छ ।
खासगरी एकेडेमी, कुरिन्टार, बर्दघाट नवलपरासी, पाथीभरा झापा र नौबस्ता बाँकेमा यस्तो समस्या रहेको छ । कमान्ड गर्न नसक्ने तर, नेताको चाकडी गरेर बर्दघाट तालिम केन्द्र गएका एसएसपी शंकर खनाल अहिले राशनको पैसा हिनामिना गरेर हिसाब बुझ्न ब्यस्त छन् ।
हेडक्वाटरसंगै रहेको कार्यदल गणको गणपति हुँदा राशनको पैसा हिनामिना गरेका खनालको धन्दा अहिले पनि उस्तै रहेको स्रोतले जनाएको छ । त्यहाँ तालिमेहरूलाई कमसल खाना खुवाइने गरेको, स्केल अनुसारको खाना नभएको र मासिक ४ लाखसम्म एसएसपी खनाललाई बुझाउनुपर्ने श्रोतले बतायो ।
खासमा राशन व्यवस्थापन गर्ने काम कमान्डरको नभइ कमान्डभन्दा मुनिका अधिकृतको हो । तर, सबै हिसाब एसएसपी शंकर खनाललाई बुझाउनु पर्ने अवस्था छ । त्यति मात्र होइन तोकिएको संख्या भन्दा अत्यधिक धेरै बिदा छोडेर उनले राशनमा अनियमितता गरिरहेको भए पनि कुनै अनुगमन भएको छैन ।
हेडक्वाटरमा उजुरी गरे पनि सुनुवाइनै नहुने बताइन्छ । ‘जसले जे गरे पनि भएको छ’ श्रोत भन्छ । यस्तै सोर्सफोर्स लगाएर आफ्नै जिल्ला झापाको तालिमकेन्द्र पुगेका एसएसपी राजेश उप्रेतीको राशनमा रजाइँ चलेको स्रोतले बताएको छ । उनी कहिल्यै तालिमकेन्द्र भित्र भेटिदैनन्, तर राशनबाट मासिक ३ लाखसम्म बुझाउनुपर्ने श्रोतको दाबी छ ।
प्रहरी मुख्यालयमा रहँदा महिला जवानहरूलाई ऐना हेर्न सिकाउने उप्रेतीको धन्दा जवनालाई घर बिदा छाड्ने र लेखासँग मिलेर राशनको हिसाब बुझ्ने मात्रै रहेको छ । झापामा कुनै दुर्घठना भए तालिम केन्द्रबाट कहिलेकाही आपतकालीन रुपमा बाहिर गस्तीमा खटाउने जनशक्ति पनि नराखी घरबिदामा छाड्ने गरेको त्यहीबाट एक तालिमेले जानकारी दिए ।
यहि समस्या कुरिन्टार र एकेडेमीमा पनि छ । एकेडेमीमा डिआइजी कमल गिरीले मासिक ५ लाखसम्म राशनबाट खाने गरेका छन् । यस्तै, कुरिन्टरको तालिम केन्द्रमा एसएसपी माधव पौडेल र एसपी जनक पुरीको रजाइँ छ । दुबै ब्याजी भएकोले मिलाएर राशनमा ब्रम्हलुट गरेको बताइन्छ ।
यस्तै, सर्लाही हुँदा जुवा खेलेर कमान्डबाट तानिएक एसएसपी गंगाराम श्रेष्ठले बाँकेको तालिम केन्द्रमा तालिम गराउन भन्दा राशनमा आँखा लगाउने गरेका छन् । उनले हरेक दिन कति खर्च भयो भन्दै हिसाब खोज्ने गरेको बताइन्छ । अझ अचम्म त के छ भने यी तालिम केन्द्रमा तालिमेलाई तालिमको बिचमा २ हप्तासम्म आउट छोडिन्छ । तर, सबैले त्यो समयको पनि राशनको पैसा बुझाउनुपर्छ । नत्र, विभिन्न बहानामा दुःख दिने गरेको गुनासोसमेत तालिममा भएकाहरूले गर्ने गरेका छन् ।
‘यस्तो बिषयम छानबिन भएपनि चोख्याउने ढंगले हुन्छ यो ओपन सेक्रेट जस्तै हो’ स्रोतले भन्यो, ‘छानबिन समिति बनेपनि चोख्याउने र मिलाउन ढाकछोप गर्न सक्नेलाई समितिमा राखिन्छ र केही नभएको प्रतिबेदन बनाइन्छ ।’