काठमाडौं । नेपाल प्रहरीका एसपी नवराज कार्कीलाई लागेको आरोपमा डिआइजी चन्द्र कुवेर खापुङ कति दोषी हुन् भन्नेमा प्रहरी प्रधान कार्यालय अन्योलमा रहेको छ ।
एआइजी श्याम ज्ञवाली र डिआइजी यज्ञविनोद पोखरेलमाथि छानबिनको नाटक गरेको प्रहरी प्रधान कार्यालयले खापुङमाथिको दोष नछुट्याउँदै छानबिन गरेको प्रचार गरिरहेको छ । यद्यपि, प्रहरी प्रधान कार्यालयले कार्की र अर्का एसपी कमल थापामाथि भने गम्भीर रुपमा छानबिन थालेको छ ।
दुई एसपीमाथि गम्भीर प्रकृतिको घटनामा छानबिन अघि बढेको छ । एसपी कमल थापा र नवराज कार्कीमाथि छानबिन अघि बढेको भए पनि निष्कर्ष भने आइसकेको छैन ।
मोरङका तत्कालीन एसपी नवराज कार्कीले अनलाइन जुवा तथा क्रिप्टोकारोबार गर्ने समूहलाई धम्काएर पैसा असुलेकोमा सरुवा गरी कारवाही प्रकृया अघि बढाइएको छ । इन्स्पेक्टर बिक्रम भट्टराईले त्यसरी पैसा लिएर एसपीलाई बुझाएका थिए ।
समाचार स्रोतका अनुसार सो कुरा इन्स्पेक्टरले स्वीकार गरिसकेका छन् । त्यससम्बन्धी डिल एसपीका घुमुवाले गरेका थिए । बदनाम रहेका ती घुमुवालाई हटाउन आइजीपीले डीआइजी खापुङलाई पहिले नै भनेका थिए । तर, मोरङमा खटाएको पाइएपछि आक्रोशित भएर आइजीपीले डीआइजी खापुङलाई कारबाही गर्ने भनेर सो घट्नामा एसएसपी भीम दाहालको नेतृत्वमा छानबिन भइरहेको ले निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरिएको छ ।
त्यसैगरी एसपी थापाको हनि ट्रयापिङ गिरोहसँग साँठगाँठ देखिएको छ । एसपी कार्कीले क्रिप्टोकरेन्सी र अनलाइन जुवा खेलाउने गिरोहसँग पैसा असुल्ने गरेको प्रमाण भेटिएको छ । एसपी थापालाई अख्तियारबाट हटाइएको छ । ललितपुरको भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलिएको घटनामा एसपी थापा मुछिएका हुन् ।
सो गिरोहका नाइके ताज इस्लामसँग उनको निकटतम सम्बन्ध देखिएको छ । उनै एसपी थापाले भैंसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीलाई चिनजान गराएर पैसा असुल्न सघाएका थिए । पैसा असुलिएकै दिन इस्लाम र एसपी थापाबीच आधा घन्टा गोप्य भेटघाट भएको प्रहरी छानविनमा खुलेको छ । इन्सपेक्टर शाही अझै फरार रहेकाले पनि एसपी थापामाथिको अनुसन्धान अघि बढ्न सकेको छैन ।