Logo
Logo

अख्तियार पक्राउ गर्ने, विशेष अदालत छाड्ने


1.2k
Shares

काठमाडौं । विशेष अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच रोचक लुकामारी चलिरहेको छ । विशेष अदालतले चारवटा भ्रष्टाचार मुद्दामा एकसाथ सफाइ दिएका एक अधिकृत घुससहित रंगेहात पक्राउ परेपछि रोचक लुकामारी देखिएको हो ।

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुलाई केही दिन अघि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । उनलाई सेवाग्राहीसँग ७८ हजार रूपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

बिल भुक्तानीको रकम दिएवापत् सेवाग्राहीसँग घुस लिँदै गर्दा साहलाई पक्राउ गरिएको थियो । उनलाई कलैया उपमहानगरपालिका–४ को कार्यालय जाने बाटोमा लेनदेनकै क्रममा पक्राउ गरियो । उनले विशेष अदालतबाट चारवटा भ्रष्टाचार मुद्दामा सफाइ पाएको ६ महिना पनि पूरा भएको छैन । उनले के कति कारणले सफाई पाए भनेर न्यायाधीशले फैसलाको पूर्ण पाठ तयार गर्न पनि भ्याएका छैनन् ।

न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले गत वैशाख १७ गते एकै दिनको सुनुवाइमा चारवटै मुद्दामा साहलाई एकसाथ सफाइ दिएपछि उनी बारा पुगेका थिए ।

अख्तियारले उनीविरूद्ध विशेष अदालतमा २०८० जेठ ३ गते पहिलोपल्ट भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जसअनुसार, आर्थिक वर्ष ०७७÷७८ मा सिम्रौनगढ नगरपालिका–९, बारास्थित बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माणसम्बन्धी योजनामा गर्दै नगरेको कामको बिलभरपाई बनाएर १० लाख ८ हजार ९ रूपैयाँ उपभोक्ता समितिसँग मिलेर खाएको पाइएको थियो ।

मधेस प्रदेश सरकारको अनुदान हिनामिनाबारे संसदीय अनुगमन समितिले यस अनियमिततालाई सतहमा ल्याएको थियो । त्यही वर्ष उनी संलग्न असार र साउन महिनामा अरू चारवटा भ्रष्टाचार मुद्दा अदालत थपिए ।

यी सबै मुद्दाको बिगो (अनियमितता भएको) रकम जोड्दा ५३ लाख रूपैयाँभन्दा बढी हुन्छ । सिम्रौनगढ नगरपालिकाका–३ मा सामुदायिक भवन निर्माण, वडा नं ३ नयकाटोलमा बर्थिङ सेन्टर निर्माण लगायतका योजनामा उनले एउटै शैलीमा रकम हिनामिना गरेको संसदीय अनुगमन र अख्तियारको अनुसन्धानले देखाएको थियो ।

विशेष अदालतमा पहिलो मुद्दा दायर भएपछि २०८० जे७ ३ मा पदबाट निलम्बित भएका थिए । गत वैशाख १७ गते सबै मुद्दामा एकसाथ सफाइ पाएका थिए । यति ठूलो मुद्धामा अदालतले कसरी सफाई दियो भन्ने बारेमा सर्वत्र प्रश्न उठेको छ । उनको निलम्बन फकुवा भएपछि गत साउन २५ गते कार्यालयमा हाजिर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्