उदयपुर । उदयपुरको मिर्चैया–कटारी सडक खण्डमा चलिरहेका टिपरहरूले अराजकता मच्याईरहेपनि राज्यका सरोकाराबाला निकायमात्रै होइन, सडकसँगै जोडिएको घरमा बसोबास गर्ने नेता, सांसद, पूर्वमन्त्री, जनप्रतिनिधिलगायत बुद्विजिवी भनौदाहरूसमेत मौन छन् । यो मौनता आफैंमा उदेकलाग्दो छ ।
बर्षौँदेखि जारी ढुवानीकर्ताहरूको मनोमानी चालपाएर पनि मौनता साँधिरहेका उनीहरूप्रति जनता असन्तुष्ट छन् । मिर्चैया–सिरहा सडक खण्डको सिरहा र उदयपुरको सीमानामा पर्ने बेलसोतमा पूर्वप्रदेश सांसद तथा पूर्वराज्यमन्त्री कला घलेको घर सडकसँगै जोडिएको छ ।
बेलुकी ८ बजेपछि उनको घरसँगै जोडिएको सडक हुँदै ढुङ्गा बोक्ने टिपरहरू बेलगाम दगुर्छन्, रातभरी नै लाम लागेर । सडक क्षमताभन्दा धेरै ढुङ्गा लोड गरिएका टिपरहरू अनियन्त्रित रफ्तारमा दौडिदा एमाले नेतृसमेत रहेकी घलेको घर हल्लिन्छ, टिपरको कर्कश आवाजले निन्द्रा पर्दैन । तर, पनि घलेले सार्वजानिक रूपमा यसको विरोध गरेको सुन्नमा आएको छैन ।’
न त संसदमा समय लिएर उनले यसबारे आवाज उठाइन्’ एक स्थानीय भन्छन्– ‘सांसद रहेकाबेला घलेले बर्षौँदेखि चल्दैआएको टिपर आतंक रोक्न पहल गर्नसक्थिन तर, गरिनन् । जनताले यो नोटिस गरेर राखेका छन् ।’
बेलसोतमै छन् अर्का क्रान्तिकारी नेता । तिनको नाम हो– केपी बराल । जनमोर्चा हुँदै नेकपा (माओवादी केन्द्र)को राजनीतिमा सक्रिय बराल गएको स्थानीय तहको चुनावमा कटारी नगरपालिकाको मेयरमा उठेका थिए । तर, हारे । बरालले पनि यहाँ जारी टिपरको ज्यादतीविरूद्व खासै विरोध नजनाएको बताउँछन् स्थानीय ।
बरु उल्टै बरालले बिगतमा पर्यावरण संरक्षण समिति गठन गरेर टिपरहरूसँग महिनावारी रकम असुल गरेको जानकारी दिए उनले । भने– ‘बरालको नेतृत्वमा रहेको पर्यावरण समितीले टिपरहरूसँग कति पैसा असुल्यो, के–के कार्यक्रम गर्यो भन्ने बिषय गर्भमै छ ।
बरालले टिपरहरूबाट बर्षेनी लाखौँ उठाएको सिमेण्ट उद्योगहरूले उपलब्ध गराएको रेकर्डमा छ । झारा टार्न कहिलेकाहीँ पर्यावरण संरक्षणसम्बन्धि कार्यक्रमहरू गरे रे, भन्ने सुनिन्छ । आर्थिक हिसाब सार्बजानिक गरेनन् । यसबारेमा हामीले भर्खरै अख्तियार र संसदको उपभोक्ता हित संरक्षण समितीमा उजुरी दर्ता गरेका छौँ ।’
बरालले केही समयअघि स्थानीय तहलाई सबै कागजाग र हरहिसाब सुम्पिएर पन्छिने प्रयास गरेको बताउँदै मारूती सिमेण्ट उद्योगका एक अधिकृतले भने, ‘गैरकानुनी ढुङ्गा ढुवानीको विरोध गर्ने देखेर सिमेण्ट उधोगहरूले घुमौरो ढङ्गले पर्यावरण संरक्षण समितीका नाममा लाभ दिएपछि बरालले विरोध गर्ने कुरै भएन् ।’
बेलसोतमै छ कटारी नगरपालिकाकी उपमेयर गीता खड्काको घर पनि । बराल र घलेको झैँ उपमेयर खड्काको घरपनि सडकमै जोडिएको छ । न्यायिक समितिकी संयोजकसमेत रहेकी खड्काले सबै थाहा पाएरपनि विरोध गरेकी छैनन् । मारूतीकै एक अर्का कर्मचारीको भनाईमा उपमेयर खड्काको दाजुलाई ढुङ्गा ढुवानीलाई आधार बनाएर लाभ दिएकाले उनले विरोध नगरेकी हुन् ।
साबिक त्रिवेणी गाउँ बिकास समितिका तत्कालीन अध्यक्ष नबराज पोखरेलको घर पनि बेलसोतमै हो । बेलसोत राजनीतिक रूपमा सचेत ठाउँको रूपमा परिचित छ । विद्रोही स्वभावकी कला घले अन्यायविरूद्व लड्ने जुझारू महिला नेतृ थिइन् । घलेको नेतृत्वमा उदयपुरको यो क्षेत्रमा महिलाहरू राजनीतिक हकअधिकारका लागि संगठित बनेको इतिहास छ ।
राजनीतिक रूपले सचेत रहेकाले पनि बेलसोतबाट टिपर आतंकविरूद्व आवाज उठोस् भन्ने अपेक्षा धेरैको हुनसक्छ । तर, दुखःसाथ भन्नुपर्छ– त्यसो हुनसकेन । नागरिकको अपेक्षा अधुरै रह्यो । न बोल्छन् नेता, न बोल्छन् सांसद र मन्त्री !
उदयपुरको यो क्षेत्रले राजनीतिक दलका पदाधिकारी तहका नेता पनि पाएको छ– जगन्नाथ खतिवडा । एमालेसँग अलग्गिएर माधव नेपालको नेतृत्वमा खुलेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव । नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव लडेका खतिवडा एमालेका नारायण रायमाझीसँग पराजित भएका थिए ।
चुनाव हारेपनि खतिवडाको पार्टी पटकपटक सरकारमा सामेल भयो । खतिवडाले यहाँको टिपर ढुवानीले निम्त्याएको समस्या समाधानका लागि पहल गर्नसक्थे र अझै सक्छन् पनि । तर, खतिवडा यो समस्याप्रति मौन छन् । आफ्नो क्षेत्रका जनताका समस्यालाई बेवास्ता गर्दै उनी राष्ट्रिय राजनीतिमा कलम बोकेर कसका लागि सक्रिय छन् कुन्नि ?
खतिवडालाई चुनाव हराएका सांसद नारायण रायमाझीले सिमेण्टको ढुङ्गा ढुवानीले जनतालाई पुर्याउँदै आएको पिरमर्का संसदमा उठाउन सक्छन् । अहिले त झन् एमालेकै नेतृत्वमा सरकार छ, राष्ट्यिताले ओतप्रोत एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् ।
अझ कांग्रेस लगायतका दलहरूसँगको गठबन्धनमा बनेको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि एमालेकै भागमा छ । तर, यहाँको टिपरको अराजकताबारे सञ्चारमाध्यममा अइरहँदा पनि सरकार मौन रहँदा प्रधानमन्त्री ओलीमाथि नै स्थानीयले प्रश्न उठाएका छन् । स्थानीयले प्रधानमन्त्री ओलीमाथि प्रश्न गर्छन्– ‘प्रधानमन्त्रीज्यू, शौर्य र मारुती सिमेन्ट उद्योगसँग बक्नुभएको हो ?’
साँच्चैको जनताको समस्याप्रति संवेदनशील यदी छन् भने यहाँको ढुवानीको मात्रै नभएर मिर्चैया–कटारी–घुर्मी सडकको समस्या पनि एकैपटक समाधान गर्न सक्छन् सांसद रायमाझीले । तर, यो समस्याबारे खतिवडाझैँ रायमाझी पनि मौन छन् । उनलाई कटाक्ष गर्ने उनका आलोचकहरू ब्यंग्य गर्दै भन्छन्– ‘चुनाव जितेपछि समाजवादोन्मुख यात्रासँगै आर्थिक क्रान्तिमा पनि होमिएकाले रायमाझीसँग समय नै छैन ।’
त्यस्तै, वर्तमान प्रदेश सांसद तथा पूर्वप्रदेशमन्त्रि रामकुमार खत्री, जनप्रेमी नेताको पगरी गुथाईएका रामकुमार राई, त्रिभुवन दाहाल, तिर्थ श्रेष्ठहरू सबैले चाल पाएर पनि समस्याको किनारमा बसेर तैँ चुप मै चुप छन् ।
पूर्वमेयर ज्ञानेन्द्र श्रेष्ठले पनि ढुङ्गा ढुवानी गर्ने टिपरका कारण उब्जिएको समस्या समाधानमा खासै पहल गरेको देखिएन । सडक किनारका जनताले भोग्नुपरेको स्वास्थ्य र मानसिक समस्या समाधान उतिबेला नगरपिताका रूपमा उनको दायित्व थियो ।
स्थानीयसँगै प्रदेश, संघीय सरकार, स्वंम सिमेण्ट उद्योगहरू र सरोकारवाला निकायहरूसँगको सहकार्यमा दीर्घकालीन समाधान खोज्न सकिन्थ्यो र अझै सकिन्छ, यसका लागि वर्तमान नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले अतिसंवेदनशिल भएर घोत्लिन जरूरी छ ।
ढुवानीको समस्या समाधानका लागि तीन विकल्प देखिन्छन्, खसिबास अथवा खोलैखोला हुँदै बैकल्पिक मार्ग अथवा प्रयोगरत सडकको उद्योगहरूको दायित्ववोध गराएर ठूलै लगानीमा स्तरोन्नती । रोपवे पनि समाधानको बलियो बिकल्प बन्नसक्छ । तर, यसले स्थानीयस्तरमा रोजगार गुम्ने छ र टिपरको भाडाबापत नगरमा भित्रिने पैसा बाहिरिने छ ।
हामी सबैले के नभुलौँभने बेलसोत, गराँस, खोक्सा, सिमानपुर, गिद्दबर, हडैया, देबिधाप, ताराघारी र कटारी बजारकै स्थानीयहरू रातभरी निरन्तर टिपर चल्दा स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ । महिला, बालबालिका र वृद्ववृद्वामा मुटु तथा फोक्सोको रोग देखा पर्नेक्रम बढेको छ ।
क्षमताभन्दा बढी ढुङ्गा बोकेका टिपरहरूले नियन्त्रण गुमाउँदा ज्यानै जानेगरी दुर्घटना हुने सम्भाबना बढेको छ । ध्वनी प्रदुषणले मानव स्वास्थ्यमा दीर्घकालीन असर पुर्याइरहेको छ । सडकसँग जोडिएका घर हुनेहरू निश्चिन्त भएर निदाउन सकिरहे छैनन् । यतातिर हामी सबैको ध्यान जान जरूरी छ । सबै संवेदनशिल हुन आवश्यक छ ।
तर, हडैयाका शुखिलाल सदायको भनाईमा मनपरी ढुङ्गा ढुवानीको विरोध नहोस्, स्थानीयहरू आन्दोलित नहोउन् भनेर सिमेण्ट उद्योगहरूले समाजका टाठाबाठा, अगुवा र नेता भनाउँदाहरूलाई आफ्नो प्रभाबमा राख्ने गरेका छन् । चुनाव आउँदा उमेदवारलाई उनीहरूको हैसियत अनुसार दामासाही सहयोग उपलब्ध गराइन्छ । क्लव, समूह, संसंस्था र सञ्चारमाध्यामलाई आर्थिक सहयोग गरेर प्रभावित तुल्याइने गरिन्छ ।
चौतर्फी विरोध हुनथाल्दा स्थानीयलाई रोजगार सिर्जना गरेको हवला दिइन्छ र स्थानीय नागरिकले झेलिरहनुपरेको समस्यालाई सामान्य तुल्याइन्छ । जुन सरासर नागरिकका अधिकारहरू रद्दीको टोकरीमा फाल्नु हो । अब नागरिक समाज यसबारे चनाखो हुनैपर्छ । युवाहरूले सामूहिक रूपमा यो समस्या समाधानको दीर्घकालीन उपाय खोज्ने दायित्ववोध गर्नैपर्छ । अब पनि बेवास्ता गरे ढिला हुन्छ । उद्योगीहरूको मुनाफाका लागि कौडीमा बिकेर आफ्ना नागरिकहरूको जीवन र भबिष्यसँग खेलवाड गर्नेहरू गद्दार हुन् ।
शक्तिकेन्द्र सबै किनेको अफवाह !
सिमेण्ट उद्योगमा ढुङ्गा ढुवानीको जिम्मा पाएकाहरूले सानादेखि ठूला शक्ति केन्द्रहरू किनेको हल्ला फैलाउने गरेकाछन्, जुन पत्यार लाग्दैन । एकजना बिचौलियाले त फेरियैपिच्छे मन्त्री, प्रधानमन्त्रीहरूलाई समेत सिमेण्ट उद्योगहरूले पैसाले प्रभावमा पार्दैआएको गफ दिन भ्याए ।
अन्त्यमा ढुङ्गा ढुवानीका नाममा टिपरले मच्याउँदैआएको आतंक् तत्काल नियन्त्रण हुन जरूरी छ । यसका लागि सरोकारवाला निकाय अतिसंवेदनशिल भएर समस्या समाधानका लागि तत्काल पहल थालोस् । जनता जागेका दीन परिस्थितिी अर्कै नहोला भन्न सकिन्न । किनकि जनता हारेको इतिहास छैन ।
[email protected]