काठमाडौं । सहकारी ठगीमा प्रकाउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा उनको बयान लिइएको हो ।
सहकारी ठगी सम्बन्धमा प्रहरीले गरिरहेको अनुसन्धानका विविध विषयहरुमा उनीसँग प्रश्न सोधिएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताए । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि लामिछाने २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।
गोर्खा मिडिया नेटवर्कमा काम गर्न जाँदा आफूले ‘स्वेट शेयर’वापत आएको १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न भएको लामिछानेले वयानमा भनेका छन् । उनले बयानका क्रममा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । रविले सूर्यदर्शन सहकारीमा आफू शेयर सदस्य, कर्मचारी, ऋणी वा अन्य कुनै भूमिकामा नरहेको भन्दै सहकारी ठगीमा संलग्नता नरहेको जिकिर गरेका छन् ।
सांसदसमेत रहेका लामिछानेलाई पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप भएकोमा बुधबार थपिएको म्याद सकिएको छ । बिहीबारबाट तिहार बिदा सुरु भएकाले उनलाई तिहार बिदा सकिएपछि कात्तिक २० गते अदालत उपस्थित गराइने भएको छ ।