Logo
Logo

साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा


630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटका क्रममा उनले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट पार्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन् । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् ।

विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गरे ।

‘विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वाेच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रङ्गशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए । सो अवसरमा खेलाडीहरुले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएकामा खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्