Logo
Logo

अम्बा बेचेर नुनतेलको जोहो


189
Shares

गुल्मी । जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा)बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू । घरको आर्थिक अवस्था कमजोर बनेका जिल्लाको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला घरको चुलोचौको गर्ने समयमा पनि तिहारमा खर्चको जोहोका लागि डोकोमा अम्बाको भारी बोकेर बिहानै सदरमुकाम तम्घास धाउन बाध्य छन् ।

दसैँतिहारजस्ता चाडबाडको समयमा बर्सेनि कहिले पैदलयात्रा त कहिलो सवारीसाधनमार्फत अम्बा बिक्री गर्न सदरमुकाम तम्घास आउने उनीहरूको दैनिकीजस्तै बनेको छ । घरदेखि सदरमुकाम तम्घाससम्म आउन यातायातको सहज पहुँच भए पनि गाडीभाडा बचाउन पैदलै हिँडेर सदरमुकाम आउने गर्दछन् । एकाबिहानै पिठ्युमा डोकाभरि अम्बाको भारी बोकेर झिस्मिसेमा आँखा मिच्दै घरबाट हिँडेका ती महिला सदरमुकामसम्म आइपुग्दा पसिनाले निथ्रुक्कै भिजेका हुन्छन् ।

गाउँमा यतिबेला प्रायः धेरैका खर्यान तथा बारीमा अम्बा प्रशस्त मात्रमा पाइन्छन् । गाउँमा अम्बाको खासै महत्त्व नहुने भएका कारण उनीहरू पाकेको अम्बा टिपेर बिक्रीका लागि ल्याउने गर्दछन् । यसो गर्दा अम्बा पनि खेर नजाने र अलिकति भए पनि आम्दानी गर्न सकिने भएका कारण अम्बा बोकेर बिक्रीका लागि सदरमुकामसम्म आउने जाँगर बढेको इस्मा गाउँपालिका–५ बुल्मकी भीमकला कुमालले बताइन् ।

धुर्कोट गाउँपालिकाका लक्ष्मी मुखिया र राधिका मुखिया पनि तिहारमा अम्बा बिक्री गरेर नुनतेल र चिनी किन्न खर्च जुटाउनका लागि सदरमुकाम तम्घाससम्म आइपुगेको बताउन् । सिजनअनुसारको फल भएका कारण सबैले मन पराउने र खान पनि निकै स्वादिलो हुने भएका कारण आफूहरू तम्घास आइपुगेको उनीहरूले बताए ।

‘भनेको समयमा कसैले पैसा सापटी दिँदैन घरको अवस्था पनि त्यस्तै छ, अर्काको घरमा मेलापात गरेर जीवन गुजारा गर्नुपर्छ, त्यही भएर फुर्सदको खाली समयमा अम्बा बिक्री गर्न आइपुगेका हौंँ’, राधिकाले भनिन् । राधिका आफूले डोकोमा बोकेर ल्याएको अम्बा बिक्री गरेर दैनिक रु पाँच सयदेखि आठ सयसम्म आम्दानी गर्दै आएको बताउँछिन्। एक दाना अम्बा रु दुईदेखि तीनमा बिक्री हुने गर्छ ।

बिक्री गरेको पैसाले तिहारमा रोटी पकाउन तेल र चिनी किनेर जाने हो’, मुखियाले भनिन् । सहरदेखि गाउँसम्म यतिबेला दसैँ सकिएसँगै तिहारको चहलपहल बढ्दै जान थालेको छ । तर जिल्लाका विपन्न परिवारका नागरिक भने तिहारखर्च जुटाउन सडकमा बसेर अम्बा बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसिरहेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्