तिहारको महत्व र विशेषता छुट्टै होलान् । धार्मिक, संस्कृति र सामाजिक पाटाहरू पनि थुप्रै होलान् । तर, हामीसँग तिहार र सपनाको बलको विशेष सम्बन्ध छ ।
चाडपर्व भन्नेवित्तिकै बाल्यकालको याद नआउने सायदै होलान् । तिहारले पनि धेरैलाई बाल्यकालमा पु¥याउँला, मलाईजस्तै । करिब डेढ दशकअघिको कुरो हो । १० देखि १५ वर्षे बालकहरू । जम्मा १०/१२ भाइ ।
प्रायः सबै रमाइलोका लागि देउसी–भैलो खेल्छन् । तर, हामी पैसाको लागि खेलेका थियौँ । जसले सपनाको बल किन्नु थियो– मिकासा (भलिबल) । आफ्नै गाउँमा देउसी खेल्दा १० रुपैयाँ भन्दा बढी नपाइने ! तर, हामीलाई देउसीको पैसाले सपनाको बल किन्नु थियो । सल्लाह भयो– कहाँ धेरै पैसा पाइन्छ ?
नयाँ गाउँमा बढी पैसा पाइन्छ रे ! तर, कहाँ जाने ? कुन गाउँमा दिन्छ धेरै पैसा ? जयकुमारले आफ्नो मामाली गाउँमा जाने प्रस्ताव राखे । पैसा बढी दिने कुरा पनि सुनाए । जयकुमारको कुराले उत्साहित बन्यौँ ।
तर, त्यहाँ जान निकै खतरा थियो । सोराने जंगल काटेर जानुपर्थ्यो । जंगल ठूलो थियो । करिब दुई घण्टा त जङ्गलको बाटो हिँड्नुपर्ने । जहाँ बाघ–भालु पाइन्छ । भालुले मान्छे खाएको खबर बारम्बार आइरहन्थ्यो । तर, सपनाअघि बाघ–भालुको के डर !
अब, बाँकी रह्यो घरमा के भनेर जाने ? सल्लाह ग¥यौँ– नजिकैको गाउँ बाक्बुबाट खेल्दै आउने ! घरमा ढाँट्यो । बाक्बुक भनेर हिँड्यौँ पिछुमा । झोला, लाइट र लठ्ठी बोकेर उज्यालोमै काट्यो सोराने जंगल ।
नयाँ गाउँमा सुरु ग¥यौँ देउसी । नयाँ देखेपछि सबैले प्रश्न गरे– कहाँबाट आयौँ ? भन्थ्यौँ– पाङ्लुङ्ग ! सबै ट्वाँ पर्थे । लाग्थ्यो होला– त्यति ठूलो जंगल पार गरेर कसरी आए ?
सबै केटाकेटी । मादल समेत थिए । देवराज काका भट्याउनुहुथ्यो । कहिलेकाहीँ भविन्द्र काकाले पनि भट्याउन साथ दिनुहुथ्यो । हामी देउसी भन्थ्यौँ । मुखले देउसी भने पनि मनले मिकासा–मिकासा भन्थ्यो !
टाढा भएकाले नै हुन सक्छ, दक्षिणा पनि राम्रै पायौँ । केही घरमा त एक सय रुपैयाँसम्म झा¥यौँ । २० रुपैयाँभन्दा कम राख्ने घरै थिएन । गाउँमै खेलेको भए बढी २० रुपैयाँसम्म पाइन्थ्यो ।
दक्षिणा राम्रै पाउँदै थियौँ । तर, धेरै खेल्न पाएनौँ । लाइटको अभाव भयो । दुईवटा टाइगर ब्याट्री लाग्ने लाइन बोकेर गएका थियौँ । त्यो पनि सबैसँग थिएन । दुईजना बराबर एउटा लाइट थियो ।
नयाँ ठाउँ, नयाँ बाटो । बाटो अन्दाज लगाउन सक्ने कोही थिएनौँ । कहाँकहाँ घर छन् भन्ने पनि पत्तो पाएनौँ । बाटो नदेखेर केही साथीहरू बारीको कल्लाबाट लडे । सुदेश त धुरुधुरु नै रोए । देउसीको पैसाले ब्याट्री किन्न त सक्थ्यौँ । तर, नजिकमा दोकान थिएन । सालेवा नै पुग्नुपथ्र्यो ।
रातभर देउसी खेल्ने भनेर गएका थियौँ । योजना सालेवासम्मै जाने थियो । तर, लाइटको अभाव भयो । जाडो र भोक उस्तै । केही घरमा सेलरोटी पाएका थियौँ । तर, दुई÷चारवटा सेलरोटीले के पुग्थ्यो ११÷१२ जनलाई !
साथीहरूले फर्कौँ भन्न थाले । मध्यरातमा पिछुमाबाट पाङ्लुङ्गतिर लाग्यौँ । अब, अर्को फसाद । दुई घण्टाको त्यति ठूलो सोराने जंगल कसरी कट्ने ?
हामीसँग विश्वकर्मा थरका दुईजना साथीहरू थिए– रमेश र इतेश । फकायौँ– तिमीहरूको त ‘मसान’ हुन्छ भूतले पनि केही गर्दैन । बाघ–भालुले पनि केही गर्न सक्दैन ! उनीहरू पनि फुरुक्क भइहाले । एकजनालाई अघि र अर्कोलाई पछाडि राखेर फर्कियौँ ।
गाउँ आइपुग्दा रातको दुई बज्न लागेको थियो । थकाई थियो । भोक थियो । प्यास थियो । गाउँमा देउसी खेलेनौँ । सबै लाग्यौँ आ–आफ्नो घर ।
जुन लक्ष्य लिएर पिछुमा गएका थियौँ । त्यो पूरा हुन सकेन । पैसा १३÷१४ सय मात्रै उठ्यो । मिकासा किन्न पुगेन । जसरी भएपनि हामीलाई मिकासा किन्नु थियो । सबैले ५०÷५० थप्दा पुग्ने भयो । घरमा मागेर थप्यौँ ।
बल किन्न सदरमुकाम पुग्नुपर्थ्यो । शिवराम दाइ खाँदवारि जानुभएको बेला ल्याइमाग्यौँ । सेतो मिकासा ल्याइदिनुभयो । एउटा युद्ध जितेझैँ महसुस भयो ।
बल किनेर ल्याएको केही दिनमै हरायो । खेल्ने क्रममा दुङ्मा डाँडाबाट खरबारी हुँदै झरेको बल गायब भयो । दुई–तीन दिनसम्म खोज्यौँ, भेटेनौँ ।
पछि थाहा भयो । गुड्दै गएको बल मातेलका केटाहरूले भेटेछन् । थाहा पाउनेसाथ दाइहरू लगेर मातेल पुग्यौँ । बल चिनिहाल्यो । खेलिरहेकै ठाउँबाट उठायौँ । उनीहरूले यो हाम्रै बल हो भनेर दाबी गर्न सकेनन् । किन कि हामीसँग गएका दाइहरू (नारायण, ददिबल…) त्यसबेला वरिपरि नाम चलेका ‘डन’ थिए ।
अर्को कुरा त्यसबेला मिकासा किन्ने थोरैको मात्रै हैसियत थियो । त्यसैले पनि उनीहरूले यो बल हाम्रो हो भन्न नसकेका हुनसक्छ । हाम्रो वडाको टिमको समेत त्यस्तो राम्रो बल थिएन ।
हामी जुनेली रातमा रातको ११÷१२ बजेसम्म खेल्थ्यौँ । खेल्ने क्रममा एकदिन सुदेश र सन्तबहादुरको दह्रो लाप्पा पनि परेको थियो । बल राख्ने जिम्मा विद्वान काकाको थियो ।
एकदिन बल राखेकै ठाउँमा फुट्यो भन्ने खबर पायौँ । सबै अचम्मित भयो ! त्यो दिन एउटा बल मात्रै फुटेको थिएन । हामी सबैको सपना पनि फुटेको थियो । तर, विद्वान काकालाई कसैले केही भन्न सकेनन् । किनकि उहाँ हाम्रो टिम ‘डन’ हो !
अझै पनि केही साथीहरूलाई थाहा छैन, त्यो बल कसरी फुट्यो भन्ने ! बल राख्नलाई लाँदै गर्दा विद्वान र प्रविण काका खेल्नु भएछ । बल गेटफूलको काँडामा परेर पमचड भयो । बिहानसम्म बलको सबै हावा सकिएछ ।
त्यसपछि ५० रुपैयाँको ब्लाटर किनेर हाल्यौँ । तर, फुटिसकेको कुरा कहाँ जोडिन्थ्यो र । जोडिएपनि पहिलाजस्तो हुँदै हुँदैन । ब्लाटर लगाएर दुई दिन–महिना खेल्यौँ । त्यसपछि बल किन्ने सपना हरायो ।
अहिले त साथीहरू पनि हराउँदै गए । बाध्यता आ–आफ्नै । कोही गाउँमा । कोही काठमाडौंमा । कोही विदेशमा । कोही कता छन् पत्तो छैन । तर, तिहारमा भने तीनै साथीहरूको र सपनाको बल याद आउने । ती साथीहरू सबैलाई सम्झना र सबैलाई तिहारको शुभकामना ।