Logo
Logo

लाइयुआनको गौरवमा हेबेई प्रान्तको विकास फड्को


सिद्धराज राई

252
Shares

काठमाडौँ । चिनियाँ हान राजवंशको पालामा स्थापना भएको लाइयुआन काउन्टीको दुई हजार वर्षभन्दा लामो इतिहास छ । इतिहाससँगै त्यहाँको जनताले मेहनती र साहसी र गौरवशाली पहिचान स्थापित गरेका छन् । सन् १९३८ र १९४३ चीनको कम्युनिष्ट पार्टीको नेतृत्वमा जापानविरुद्धको प्रतिरोध युद्धमा लाइयुआनका जनताले देशको रक्षा गर्न ठूलो योगदान दिएको इतिहास पढ्न पाइन्छ ।

युद्धको कथामा लाइयुआनका जनता र कम्युनिष्ट पार्टीका जनसेनाको बहादुरी र सङ्घर्षलाई उच्च प्रशंसा गरिन्छ । उबेला चीन सरकारद्वारा ‘शत्रुविरुद्ध सङ्घर्षको नमूना काउन्टी’ भनेर नामाकरण गरिएको थियो । जापानविरुद्ध विजयपछि लाइयुआनले क्रान्तिकारी आधार तयार गरेको थियो ।

यही तथ्य र गौरवपुर्ण इतिहासका जगमा चिनिया विकासका नमुना यो क्षेत्रमा देख्न पाइन्छ । हेबेई एग्रीकल्चर युनिभर्सिटीको निम्तोमा २०८१ भदौ २० देखि असोज १० गतेसम्म लाइयुआन काउन्टीसँगै दर्जनौं काउन्टी, टाउन, सिटी, डिस्टीक घुमियो र हेरियो । हेबेई प्रान्तको बाओडिङ जिल्लाको उत्तरपश्चिममा अवस्थित लाइयुआन क्षेत्रले यतिबेला पर्यटकीय गन्तब्यको पहिचान बनाएको छ । ताइहाङ पर्वत, शिपु क्यान्यन, सियानरेन्यू (अमर उपत्यका) बैशी माउन्टेन लगायतको क्षेत्रलाई चीनको पर्यटकीय गन्तब्यको रुपमा विकास गरिएको छ ।

हेबेई प्रान्तको बाओदिङ शहरबाट नजिक पर्ने यी क्षेत्रलाई चीनले पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छ । यो क्षेत्रलाई सन् २००६ मा युनेस्कोद्वारा विश्व भूवैज्ञानिक पार्क नामकरण गरिएको छ । हेबेई एग्रीकल्चर युनिभर्सिटीका भिसी झो चिन्चुनको भनाइअनुसार लाइयुआन काउन्टीसँगै सिंगो हेबेई प्रान्तको विकासमा चीन सरकारको चासो र योजनावद्ध विकास परियोजना सञ्चालनमा छ ।

चीन सरकारले विकास गरे जस्तै नेपालमा पनि देशको रक्षाको लागि भएको युद्ध र प्रतिरक्षाका लागि सङ्घर्ष भएको ठाउँमा पर्यटकीय र सांस्कृतिक विकास गर्न सकिन्छ । नेपालमा सयौँ गढी, दरबारहरु छन्, तिनको संरक्षण र विकास गरी पर्यटनसँग जोड्न सकिने सम्भावना छ ।

कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग

हेबेई प्राप्तले चीनको राजधानी बेइजिङलाई उत्तर, पश्चिम र दक्षिण क्षेत्रबाट घेरा लगाएकोे छ । हेबेई आधुनिक शहर बेइजिङलाई खाद्य, तरकारी र फलफूल आपूर्ति गर्ने प्रमुख प्रान्त पनि हो । त्यसैले यो प्रान्तको विकासमा चीन सरकारको ऐतिहासिक राजनीतिक सम्बन्ध मात्रै हैन, आर्थिक र सांस्कृतिक सम्बन्ध पनि रहेको छ । राजधानी शहरलाई दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने भएकाले विकासका नमूना यहाँ देख्न सकिन्छ ।

चीन सरकारले राष्ट्रिय विकासलाई एकिकृत गर्दै ग्रामीण विकासको लागि नयाँ राष्ट्रिय विकास शैली अलबम्बन गरेको छ । स्वस्थ्य जीवन र नयाँ स्वस्थ्य’ उत्कृष्ट चिकित्सा हेरचाह सेवा र कृषिमा वैज्ञानिक र नयाँ प्रविधि रियलस्टेट, वाणिज्य तथा होटल र सांस्कृतिक पर्यटनलगायतका चारवटा विषयमा नयाँ राष्ट्रिय विकास शैलीको आधार हुन् । यही तथ्यलाई स्थापित गर्न यो प्रान्तमा गरिएको प्रविधियुक्त आधुनिक खेतीले विश्वको ध्यान तानिरहेको छ । हुवेई एग्रीकल्चर युनिभर्सिटीका एशोसियट प्रोफेसर ली छियाङका अनुसार प्रविधिको उच्चतम् प्रयोगबाट चीन कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यमा रहेको छ र प्रविधिको प्रयोग गरेर कृषिलाई नयाँ युगमा लैजाने योजना रहेको छ ।

चीन सरकारको आर्थिक सहयोग र हुवेई एग्रीकल्चर युनिभर्सिटीको प्राविधिक सहयोगमा हुवेई प्रान्तलाई कृषिको ‘हब’ बनाउने योजनाअनुसार ग्रीन हाउसभित्र प्रयोग गरिएको प्रविधिले आफैँमा चीनमा विकास कस्तो छ भनेर देखाउँछ । कृषि उत्पादनलाई वृद्धि र गणस्तरीय उत्पादन गर्नको लागि हुवेई प्रान्त ग्रीनहाउसमय भएको छ । हरेक कृषि फार्ममा सुविधायुक्त र वातावरण अनुकुलित ग्रीनहाउस सञ्चालनमा रहेको छ ।

चीनको गर्मी र अत्याधिक चिसो हुने स्थानमा पनि वर्षभरि नै तरकारी, फलफूल र अन्य कृषिउपज उत्पादन गर्नको लागि सोलर सिस्टम ग्रीनहाउस, ग्लास ग्रीनहाउस, प्लाष्टिक ग्रीनहाउस र प्लाष्टिक टनेलको प्रयोग भइरहेको छ । यति मात्रै हैन, माटोबिना नै तरकारी खेती गर्ने प्रविधि जडान भइरहेको छ । ग्रीनहाउसमा अटोमेटिक कुलिङ र हिटिङ प्रविधि रहेको छ । विरुवालाई चाहिने पानी र मल पनि मेसिनबाट वितरण गर्ने प्रविधि जडान छ । हेबेई एग्रीकल्चर युनिभर्सिटीको रेकर्डअनुसार अहिले चीनमा ६० प्रतिशत तरकारी र फलफूल प्रविधियुक्त ग्रीनहाउसबाट उत्पादन भइरहेको छ । एउटा ग्रीनहाउस सञ्चालनको लागि अरबौंको लगानी भइरहेको छ ।

चीन सरकारले उत्पादनसँगै त्यसको बजारीकरण र गुणस्तरमा समेत ध्यान दिएको छ । गाउवादियन सिटीमै रहेको नेसनल एग्रीकल्चर प्रोडक्ट ट्रान्जिट एण्ड डिस्टीबुसन कम्पनी आफैँमा एक कृषिको व्यापारिक केन्द्र हो । विभिन्न ठाउँका फार्म र किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको सङ्कलन, प्रशोधन र वितरण गर्दै आएको यो कम्पनीको बेइजिङ र हुवेईका सम्पूर्ण जनतालाई एक हप्तासम्म तरकारी, फलफूल र मासु उपलब्ध गराउन सक्ने क्षमता रहेको छ ।

नेपाल कृषिप्रधान देश हो भने पनि परम्परागत र निर्वहामुखी खेती प्रणालीले ठूलो आर्थिक परिवर्तन नआएको स्पष्ट छ । कृषि प्राविधिकहरुले ज्ञान र प्रविधिको प्रयोग बढाउन सके कषिमा आत्मनिर्भर हुन सकिन्छ । चीनको जस्तै लगानी गर्न नसकिए पनि नेपालको भौगोलिक र हावापानीको विविधतालाई कृषि उत्पादनसँग जोड्न सकिने सम्भावना छ ।

ग्रामीण विकासको नयाँ शैली

‘वी ह्याभ विन वेटिड फर यु (हामी तपाईलाई स्वागत गर्न पर्खिरहेका छौं) ! यो स्वागतको लागि हपेई प्रान्तको हाउझोङ टाउनले हरेकदिन नयाँ पर्यटक पर्खिरहेको छ । चिनिया पर्यटकहरुको प्रमुख गन्तव्य बन्दै गरेको यो शहर सुन्दर र रमणीय रहेको छ । स्थानीय एक विद्यालयकी शिक्षिका गावलिन सुएको भनाइमा चिनिया पर्यटकको लागि हाउझोङ टाउन एक गन्तव्य हो ।

चीनको बाओदिङ शहरबाट करीब दुई घण्टाको बस यात्रामा पुगिने यो शहर चीन सरकारले सञ्चालन गरेको एक किसिमको ‘कम्युन’ जस्तै हो । स्थानीय जनतालाई रोजगारी सिर्जना गर्नको लागि सञ्चालन गरिएको यो टाउनले आधुनिक चीनको प्रतिनिधित्व गर्छ । यो टाउनमा सुविधा सम्पन्न ह्वाइटस्टोन माउण्टेन हट स्प्रीङ, टुरिजम रिसोर्ट सञ्चालनमा रहेको छ ।

यही होटलको वरिपरि चीनको संस्कृति झल्काउने वस्तुको प्रदर्शनी, पुस्ताकालय, ठूला लगानीमा कृषि फार्म, स्याउ बगैंचा, वनभोजस्थल, सेवा केन्द्रर हाउजिङ सञ्चालनमा रहेको छ । सन् २००८ अगाडिसम्म यो ठाउँ खासै चर्चा थिएन तर चीन सरकारको ग्रामीण विकासकमा नयाँ शैलीको परियोजना सञ्चालन भएपछि सुविधासम्म शहर बन्दै गएको छ ।

नेपाल सरकारले पनि मध्यपहाडी लोकमार्गमा १० वटा ठूला शहरको परिकल्पना गरेर परियोजना सञ्चालन भइरहेका छन् । ठूला शहर बनाउने भनेको शहरमा चीन सरकारले जस्तै शिक्षा, स्वास्थ्य, कृषिमा नयाँ प्रविधि, होटल तथा वाणिज्य, रियलस्टेट जस्ता सेवा पुग्यो कि पुगेन भनेर समीक्षा गर्ने बेला आएको छ । एक लाख जनसङ्ख्या अटाउने योजना रहेको ती शहरको पूर्वाधार विकास योजना के भइरहेको छ भनेर सरकारी निकायले स्वमूल्याङन गर्ने बेला भएको छ भन्ने लाग्छ ।

सफलताको लागि रातो फूल
नेपालमा रातो रङलाई क्रान्ति वा खतराको सङ्केतको रुपमा बुझिन्छ तर चीनमा रातो रङलाई सफलतासँग जोडिन्छ । सफल भविष्य र नयाँ यात्रासँग जोडिन्छ । त्यसैले चीनमा रातो रङको फूललाई औधी मन पराइन्छ । चीनको हुवेई एग्रीकल्चर यनिभर्सिटीका प्रोफेसर चि छियाङको भनाइअनुसार रातो फूल दिँदा हामीलाई सफलतातिर लगिरहेको छ भन्ने लाग्छ । रातो फूलले घरको सौन्दर्य बढाउने र सफलतालाई लिएर आउने गर्दछ भन्ने चिनीया जनताको विश्वास रेहेको छ ।

हेबेईको तानसिनमा फुल खेती गरिएको छियान युआन फार्म सबैभन्दा ठूलो रहेको छ । दश हजार हेक्टरमा सञ्चालन भइरहेको यो फार्म आधुनिक प्रविधियुक्त रहेको छ । नेदरल्याण्डको प्रविधि भित्राएर चीनको तानसिन गाउँमा विभिन्न जातका फूलको खेती गरिएको छ । छियान युआन फार्ममा उत्तर अमेरिकाबाट ल्याइएको अन्थुरियम जातको फुलको सबैभन्दा धेरै खेती गरिएको छ । यो फार्मले मात्रै वर्षमा ४० लाख फूलको विरुवा उत्पादन गरी विक्री गर्छ ।

फूल बिक्री गरेर यो फार्मले वार्षिक ३० लाख युआन नाफा कमाउँदै आएको छ । फूल उत्पादन गर्नको लागि हेबेई एग्रीकल्चर युनिभर्सिटीका प्रोफेसर डि बाओ, प्रोफेसर चि छियाङसहित पाँच जनाको टोलीले प्राविधिक सहयोग गर्छन् । नेपालमा पनि फूलले घर, अफिस, पार्क वा कार्यक्रमको मञ्च सजाउने गरिन्छ । नेपालीहरुको महान चाड तिहार, फूलको पर्व हो । त्यसैले पनि नेपालमा फूलको महत्व बेग्लै छ । फूललाई प्रेम र सद्भावसँग जोड्ने नेपाली परम्परा र चीनको परम्परा मिल्दोजुल्दो रहेको छ ।

चीनको चिया संस्कृति
नमस्कार(निहाओ) । सुन्दर, हसिँली युवती मुसुक्क हाँसेर चियाको कप देखाउँदै भन्नुहुन्छ– ’चिया लिनुहोस्’ । हातले इसारा गर्दै उहाँले भन्दा एउटा मात्रै शब्द छ, सेसे अर्थात धन्यवाद । चीनको हेबेई एग्रीकल्चर यनिभर्सिटीमा पढिरहनुभएकी विद्यार्थी लि जवेइको चिया खुवाउने शैली धेरै आगन्तुकको लागि सिकाइको विषय छ ।चिया हामी नेपालीहरु पनि स्वागत गर्ने संस्कृति हो । घरमा आएको पाहुनालाई स्वागत गर्ने र घर बाहिर साथीहरुसँग भेट्दा र गफिदा सजिलै खाने भनेकै चिया हो ।

हामीले कुनै विषयमा कुराकानी र छलफल गर्नुपर्छ भने चियाभेटकै कुरा गर्छौं । हामी जस्तै चीनमा पनि चियालाई संस्कृतिकै रुपमा लिएको छ । हुवेइ एग्रीकल्चर युनिभर्सिटीका प्रोफसर याङ होङका अनुसार चिया चीनको संस्कृति बनेको छ । चीनलाई चियाको उत्पत्ति भएको देश भनिन्छ । करीब पाँच हजार वर्ष पहिले चीनमा चियाको प्रयोग भएको इतिहास छ ।

सेन नोङ सम्राटको समयमै चीनमा चियाको प्रयोग थियो । त्यतिबेला चियालाई औषधिको रुपमा पनि प्रयोग गरिन्थ्यो । अहिले चिया, चिनिया खाना संस्कृतिको रुपमा प्रयोग भइरहेको छ । चीनमा पहुनाको स्वागत, पारिवारिक जमघट, पराम्परागत विहेमा ठूला व्यक्तिको सम्मान र परम्परालाई जोगाउन चियाको प्रयोग हुने गर्छ ।

चीनको सबैजसो होटलमा खानासँगै चिया पनि मेनुमा राखिएको हुन्छ । डिनर वा लन्चसँगै चिया पिउनु चीनको खाना संस्कृति हो । चिनियाहरुको भान्सामा दैनिक आवश्यक पर्ने सात वटा सामग्रीहरुमा चिया एक हो । इन्धन, चामल, तेल, नुन, सस, भेनिगरसँगै चिया अनिवार्य छ । प्रोफेसर होङ्कै भनाइअनुसार चीनका बासिन्दाको व्यक्तिगत जीवनमा पनि चिया अनिवार्य छ । चिनिया युवा र विद्यार्थीहरु खुसी हुन र रमाउनको लागि चिया, वाईन, म्युजिक, चेस, पेन्टिङ, कविता, कलिग्राफी आवश्यक छ । चिया पिउँदा स्वास्थ्य राम्रो हुने, छाला चम्किलो हुने, आँखाको ज्योति राम्रो हुने, लामो आयु हुने भनेर चीनमा एउटा गजबको प्रभाव छ ।

खानामा अनिवार्य च्याउ र खर्बुजा
चिनियाँ नागरिकको खानाको परिकारमा कहिलै नछुट्ने खानेकुरा हो, च्याउ र वटरमिलन (खर्बुजा) । डिनर र लन्चमा विभिन्न थरिका च्याउका आइटम र खर्बुजा अनिवार्य छ । च्याउलाई मौसमी तरकारीको रुपमा उपभोग गर्ने चलन छ । हेबेई एग्रीकल्चर युनिभर्सिटीका एशोसियट प्रोफेसर ली शोउमीनको भनाइअनुसार चीनमा विभिन्न ८० किसिमका च्याउको खेती गरिन्छ ।

सन् २०१२ पछि चीनमा आधुनिक प्रविधिको प्रयोग गरी ठूलो मात्रामा च्याउ खेती गर्न थालिएको हो । राज्यको लगानी र यनिभर्सिटीको प्राविधिक सहयोगमा सञ्चालनमा आएका उद्योगले उत्पादनसँगै रोजगारी समेत सिर्जना गरेको छ । फपिङ काउन्टी यसको उद्धरण हो । यो काउन्टीमा २०१२ मा चीन सरकारले सञ्चालनमा ल्याएको ‘सिताके’ च्याउ उत्पादन गर्ने फार्मले अहिले रोजगारीसँगै चीनभरि च्याउको आपूर्ति गरिरहेको छ ।

हेबेई प्रान्तको विभिन्न ठाउँमा स्थापना गरिएको ग्रीनहाउसमा विभिन्न किसिमका खर्बुजा उत्पादन हुन्छ । नेपालमा खर्बुजालाई फलफूलको रुपमा उपभोग गरिन्छ तर चीनमा यसलाई तरकारीको एउटा अंशको रुपमा उपभोग गरिन्छ । हेबेई एग्रीकल्चर युनिभर्सिटीका प्रोफेसर नी लन्चनका अनुसार खर्बुजा चीनको खानाको परिकारमा अनिवार्य जस्तै हो । चीनमा विभिन्न सात किसिमका खर्बुजाको खेती भइरहेको छ । यसरी खानाको परिकार र उत्पादनलाई जोडेर गरिएको लगानी र विकासले चीनको आर्थिक विकासका योगदान दिइरहेको अनुमान गर्र्न सकिन्छ ।

चीनको विकास र समृद्धि यात्राको रफ्टारलाई यो छोटो लेख र बुझाइमा सम्भव हुँदैन । तर पनि छोटो अध्ययनले के भन्न सकिन्छ भने देश बनाउन अनुशासन र जागरण चाहिन्छ । त्यो चीन सरकारको निकायहरु र नागरिकमा पाइन्छ । चेकपोष्टमा बाहेक सडकमा ट्राफिक प्रहरी नहुँदा पनि सडकमा सवारी अनुशासन छ । त्यस्तै गाउँगाउँमा सडक सञ्जाल पुगेको छ । ठूलो उद्योग सञ्चालनसँगै चिल्लो र सिधा सडक गाउँगाउँमा पुगेका छ । यसले गर्दा उत्पादित वस्तुको निर्यात गर्न सहज छ ।

पूर्वाधार विकासमा सरकारको लगानी हुने, उत्पादन बढाउनको लागि युनिभर्सिटीले प्राविधिक सहयोग गर्ने, कम्पनी वा समुदायले उत्पादनको काम गर्ने र बजारीकरण गर्ने प्रणालीले चीनको विकासको गति बढाएको छ । लगानी, प्राविधिक ज्ञान, उत्पादन र बजारीकरणमा अनुशासन र देश धनी बनाउनु पर्छ भन्ने जागरणले अहिलेको चीन निर्माण भएको भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्