Logo
Logo

कार्यालयमा आगजनीपछि बङ्गलादेशी पार्टीद्वारा प्रदर्शनकारीहरूको निन्दा


945
Shares

एजेन्सी । विद्यार्थी नेतृत्वको क्रान्तिद्वारा पदच्युत भएको शासनसँग पहिले नजिक रहेको बङ्गलादेशी पार्टीले शुक्रबार यस्ता प्रदर्शनकारीहरूले राष्ट्रलाई ‘विभाजन गरिरहेको’ बताएको छ । यो वयान बिहीबार राति एक भीडले पार्टीको कार्यालयमा आगो लगाएको एक दिनपछि आएको हो ।

पदच्युत पूर्व नेत्री शेख हसिनाको कार्यकालमा वाणिज्यमन्त्री रहेका जातीय पार्टीका प्रमुख गुलाम मुहम्मद कादरले बिहीबार राति आक्रोशित प्रदर्शनकारीहरूले आगजनी गरेर कार्यालयहरू जलाएको बताए ।

‘देश अहिले विभाजित छ’, कादरले ढाकामा पत्रकारहरूसँग भने, ‘देशलाई ‘शुद्ध’ र ‘अशुद्ध’ समूहमा विभाजन गर्दै उनीहरूले अरू सबैलाई बेवास्ता गर्छन्, उनीहरूले को दोषी र को होइन भन्ने निर्धारण गर्छन्, औचित्यका लागि कुनै ठाउँ छोड्दैनन् । एकपटक उनीहरूले कसैलाई दोषी भनेपछि, त्यो अन्तिम हुन्छ ।’

मुख्य विपक्षी दलले बहिष्कार गरेको र हसिनाले लगातार चौथो कार्यकाल जितेको जनवरीको चुनावमा भाग लिएकोमा कादरको जातीय पार्टीको आलोचना भएको थियो ।

हसिनाको शासनकालमा व्यापक मानव अधिकार उल्लङ्घन भएको थियो । यसमा उनका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र न्यायबाहिरको हत्या समावेश छन् ।

उनको १५ वर्षे स्वेच्छाचारी शासनविरुद्ध महिनौँको विरोध प्रदर्शनपछि उनी अगस्ट ५ मा हेलिकोप्टरमार्फत भारत भने ।

विद्यार्थी आन्दोलनका केही शीर्ष नेता अहिले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको अन्तरिम सरकारको मन्त्रिमण्डलमा छन् । त्यसयता हसिनाका दर्जनौँ समर्थकहरूलाई पक्राउ गरिएको छ ।

‘उनीहरूले सबै कुरा निर्णय गर्छन् – उनीहरूले तोडफोड गर्न सक्छन्, हाम्रा कार्यालयहरूमा आगो लगाउन सक्छन् र कानूनभन्दा माथि रहन सक्छन्’, कादरले भने ।

हसिनाविरुद्धको विद्रोह सुरु गर्न श्रेय पाएको प्रदर्शनकारी समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेशनका संयोजक हसनत अब्दुल्लाहले बिहीबार समर्थकहरूलाई जातीय पार्टीको कार्यालयमा मार्च गर्न आह्वान गरेका थिए । उनले सामाजिक सञ्जालमा विद्यार्थीहरूलाई ‘राष्ट्रिय गद्दारको सर्वनाश गर्न’ आह्वान गरेका थिए ।

तर समूहकी प्रवक्ता उमामा फातेमाले कुनै पनि कानून तोड्ने कार्यको समर्थन नगरेको बताए । ‘मार्चमा सामेल भएका व्यक्तिहरूमा जिम्मेवारी रहन्छ’, उनले शुक्रबार भने ।

वरिष्ठ प्रहरी अधिकृत तालेबुर रहमानले आगजनी आक्रमणको सम्बन्धमा कसैले पनि मुद्दा दर्ता नगरेको बताए ।

यो घटना संयुक्त राष्ट्र मानवाधिकार प्रमुख भोल्कर टर्कले ढाकामा विद्यार्थीहरूलाई ‘न्यायको पक्षमा उभिने साहसको’ प्रशंसा गरेको केही दिनपछि भएको हो ।

यद्यपि उनले आगामी जोखिमहरूको पनि ख्याल राख्नुपर्ने चेतावनी दिएका थिए । ‘साध्यले साधनलाई उचित ठह¥याउँछ भन्ने विचारदेखि सावधान रहनुहोस्’, टर्कले मङ्गलबार ढाका विश्वविद्यालयमा दिएको भाषणमा भने, ‘तपाईंले परिवर्तन खोज्ने प्रक्रिया परिणाम जत्तिकै महत्त्वपूर्ण छ । संस्थाहरूलाई भत्काउनुभन्दा तिनलाई सुदृढ बनाउनु लामो अवधिमा बढी महत्वपूर्ण हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्