Logo
Logo
जम्काभेट

‘म आफ्नो समुदायका लागि काम गर्छु’


504
Shares

तामाङ भाषा फिल्मकी चर्चित अभिनेत्री हुन् रञ्जिता लामा (ब्लोन) । एक दर्जनभन्दा बढी तामाङ फिल्म र म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी रञ्जिता निर्मात्री पनि हुन् । उनी एक सफल इभेन्ट व्यवस्थापक पनि हुन् ।

अभिनय र मोडलिङसँगै रञ्जिताले डेढ दशकयता ‘मिस तामाङ’ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन् । ‘तामाङ समुदायको कला, संस्कृति, भाषा र संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस तामाङ’को आयोजना गर्दै आएकी छु’ उनी भन्छिन्, ‘मैले जति पनि काम गर्दै आएकी छु, समुदायकै लागि गरेकी छु ।’

पहिलोपटक ‘मिस तामाङ’मा सहभागी भएपछि मोडलिङ, अभिनय हुँदै इभेन्ट व्यवस्थापक बनेकी रञ्जिताले हाल ‘मम्स इन्टरनेशनल’ नामक संस्था चलाउँदै आएकी छिन् । एभरेष्ट फेसन होम हुँदै मम्स इन्टरनेसनल नेपाल प्रालिमार्फत ‘मिस तामाङ’ आयोजना गर्दै आएकी रञ्जिता निर्मित फिल्म ‘म्हारमेन’ अहिले रिलिजको तयारीमा छ । अभिनेत्री तथा मम्स इन्टरनेसनल नेपालकी अध्यक्ष रज्जिता लामासँग रेजिना पाण्डेको जम्काभेट

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
फिल्म र इभेन्टहरूमै व्यस्त छु । मेरो पछिल्लो फिल्म ‘म्हारमेन’ हो । यो फिल्मको हालै विशेष प्रदर्शन गरेकी थिएँ । अब यही फिल्मलाई स्वदेशका विभिन्न स्थान तथा विदेशमा प्रदर्शन गर्ने तयारी गर्दैछु । त्यसबाहेक म्युजिक भिडियोहरू पनि फाट्टफुट्ट गर्दै आएकी छु ।

‘म्हारमेन’ कस्तो फिल्म हो ?
यो तामाङ समुदायको सामाजिक र सांस्कृतिक समस्यालाई उजागर गरेर निर्माण गरिएको फिल्म हो । ‘म्हारमेन’ २०७२ को विनाशकारी भूकम्पपछिको घटनाक्रममा आधारित छ । जसले तामाङ समुदायलाई परेको मानवीय र भौतिक क्षतिको वास्तविकता प्रस्तुत गर्छ ।

तपाईँ इभेन्ट व्यवस्थापक हो कि फिल्म अभिनेत्री ?
सुरुमा मोडल हुँ, त्यसपछि फिल्म अभिनेत्री बनेकी हुँ । अहिले दुवैमा सक्रिय छु । मेरो प्राथमिकता भने इभेन्ट नै हो । अहिले मम्स इन्टरनेशनल प्रालिमार्फत ‘मिस तामाङ’ गर्दै आएकी छु ।

इभेन्ट आयोजक कसरी बन्नुभयो ?
मिस तामाङ–२००६ मा म आफैं पार्टीसिपेन्ट भएकी थिएँ । त्यो बेला टप–१० सम्म पुगेकी थिएँ । ‘मिस तामाङ’ कल्चरल प्रतियोगिता हो । तर, यो प्रतियोगिता २००७ र २००८ मा भएन । त्यसपछि तामाङ समुदायको कला, संस्कृति, भाषा र संस्कारको जर्गेना र प्रवद्र्धनका लागि भएपनि यो प्रतियोगिता गर्नुपर्छ भन्ने लागेर आफैँ लागेकी हुँ । त्यसपछि अहिलेसम्म निरन्तर गर्दै आएकी छु ।

हाल जातीय इभेन्ट र फेसन शोहरू धेरै गरिन्छ । यसले समाजलाई के फाइदा छ ?
जातीय तथा भाषिक इभेन्टहरू समाज र देशका लागि फाइदाजनक हुन्छन । किनकि, यस्ता कार्यक्रमहरूले युवालाई आफनो भाषा, संस्कृति र पहिरनको ज्ञान दिनुका साथै प्रवद्र्धन गर्छ । कला र संस्कृति भनेको देशको सम्पत्ति हो । यस्तै कार्यक्रमबाट देशको विविध कला र संस्कृतिको जगर्ने गर्ने काम भएको छ । त्यसैले यस्ता इभेन्ट र फेसन शोहरू, शोका लागि मात्र नभइ शिक्षामूलक पनि छन् ।

तर, यस्ता कार्यक्रमले विकृति फैलायो भन्नेहरू पनि छन् नि ?
विकृति कसरी फैलिन्छ ? मलाई त त्यस्तो लाग्दैन । यस्ता खालका कार्यक्रमहरूले जनचेतनाका साथै आफनो भाषा, संस्कृतिको बारेमा बुझाएको छ । आफनो समुदायको संस्कृति र सस्कार के कस्तो थियो भन्ने कुरा यस्ता कार्यक्रममार्फत आधुनिक समाजका युवालाई बुझाउने काम हुँदै आएको छ । आफनो कल्चरबारे बुझ्न र जान्न इच्छुकहरू यस्ता कार्यक्रमहरूमा खोजिखोजी आउँछन् । यस्तै कार्यक्रमले गर्दा नेपालको विविध कला र संस्कारहरू देश–बिदेशसम्म बुझाउन सकेका छौं ।

‘मिस तामाङ’बाट आयोजकलाई फाइदा के छ ?
आयोजकलाई भन्दा समाज र समुदायलाई फाइदा छ । अहिलेको स्मार्टको जमानामा नेपाली समाज पनि आधुनिकतामा डुब्दै जाँदा नेपाली भाषा र संस्कृति मात्र नभएर नेपालका विविध कला र मौलिकता पनि हराउँदै गएको छ । तर, ‘मिस तामाङ’ जस्ता कल्चरल कार्यक्रमहरूले तामाङ संस्कृतिसँगै नेपाली विविध मौलिकताको प्रवद्र्धन गर्दै आएको छ ।

कल्चरल इभेन्ट गर्ने सोच कसरी आयो ?
म मिस तामाङमा सहभागी भएँ । त्यसपछि थुप्रै तामाङ भाषाका चलचित्र र म्युजिक भिडियोहरूमा काम गरेँ । विस्तारै यसप्रति मेरो झुकाव बढ्दै गयो । त्यसैक्रममा आफनो भाषा र संस्कारका कुराहरू सिक्न र सिकाउन बाँकी रहेछ भन्ने लागेर समाजका लागि पनि होस् भन्ने उदेश्यले ‘मिस तामाङ’को सुरुवात गरेको थिएँ । अहिले त्यसैलाई निरन्तरता दिँदै आएकी छु ।

यस्ता कार्यक्रममा आयोजकले पैसा लुटिरहेका छन् भन्छन् नि ?
काम गर्दै जाँदा खर्चको कुरा आउँछ । तर, पैसा उठाएर भाग्ने, लुट्ने हाम्रो काम होइन । हामीले काम गरेर देखाएका छौँ । हाम्रो काम सबैसामु देखिएको छ । कतिले गरे होलान् । तर, मबाट अनैतिक काम हुँदैन । भएको पनि छैन । पैसा नहुनेलाई निःशुल्क पनि अवसर दिएको छु ।

एउटा महिललाई यस्ता कार्यक्रम गर्न कतिको गाह्रो छ ?
सुरुमा गाह्रो थियो । धेरै ठाउँमा मलाई असहज पनि भएको थियो । सानैदेखि विजनेश गरौँ, आफनो नाम होस्, आफनै पहिचान होस् भन्ने चाहनालाई मार्न सक्दिनँ थिएँ । त्यसैले जसरी भएपनि राम्रो काम गर्नु थियो । यहि उद्देश्यले काम गदै अहिले यो स्थानमा छु ।

तामाङबाहेक अरु भाषाका फिल्म पनि खेल्नुभएको छ ?
छैन । मौका नआएको भने होइन । तर, कारणबस काम गर्न सकिएन, भ्याइएन पनि । सिनेमाभन्दा ‘मिस तामाङ’लाई कसरी लाने ? के गर्दा राम्रो हुन्छ, केही गर्न सकिन्छ कि भन्नेमै व्यस्त भएँ ।

तपाईँ अभिनित तामाङ चलचित्र चल्यो कि चलेन ?
मैले जति पनि तामाङ भाषामा बनेको चलचित्रहरूमा काम गरेँ, ति सबै चलेका सिनेमाहरू हुन् । र, उत्कृष्ट छन् । आफुले गरेको कामको चर्चा र प्रशंसा पाउँदा खुशी लाग्छ ।

प्रतिक्रिया दिनुहोस्