काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।
राष्ट्रपति पौडेलले आइतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाएका हुन् ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आइतवार बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।
भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।