वासिंगटन । स्विङ राज्य, निर्वाचक मण्डलका मत, मतपत्रमा माथिदेखि तलसम्मका उम्मेदवार र लाखौँ सम्भावित मतदाताहरू–
यहाँ संख्यामा अमेरिकी चुनावको विश्लेषण गरिएको छ ।
दुई
केही स्वतन्त्र उम्मेदवारले चुनाव लडे । कम्तीमा एक जना रोबर्ट एफ. केनेडी जुनियरले आँखीभौँहरू उचाल्ने खालका समाचार शीर्षकहरू बनाए । तर अन्ततः राष्ट्रपति पदको दौड दुई विकल्पमा सीमित छ । प्रमुख पार्टीका दुई उम्मेदवारहरू डेमोक्रेट कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्प ध्रुवीकृत अमेरिकाको नेतृत्व गर्न प्रयासरत छन् ।
पाँच
नोभेम्बर ५– चुनाव दिन । परम्परागत रूपमा नोभेम्बरको पहिलो सोमबारपछिको मंगलबार ।
सात
स्विङ राज्यको सङ्ख्या – यी राज्यले कुनै एक पार्टीलाई स्पष्ट प्राथमिकता दिँदैनन् । अर्थात् तिनीहरू जित्न सकिने अवस्थामा छन् ।
ह्यारिस र ट्रम्पले एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र विस्कन्सिनका मतदाताहरूलाई लोभ्याउँदै हुनुहुन्छ र विजय सुनिश्चित गर्न त्यहाँ आफ्ना प्रचार प्रयासहरू केन्द्रित गर्दैछन् ।
अत्यन्त कडा प्रतिस्पर्धाको चुनावमा ती कुनै पनि राज्यमा केही मतले नै परिणाम निर्धारण गर्न सक्छ ।
३४ र ४३५
मतदाताहरूले चुनावका दिन केवल ह्वाइट हाउस कब्जा गर्ने निर्णय गर्दैनन् । उनीहरूले अमेरिकी कंग्रेसलाई पनि ताजा बनाउनेछन् ।
सिनेटका ३४ सिट र प्रतिनिधि सभाका सबै चार सय ३५ स्थान चुनावका लागि खुला छन् ।
प्रतिनिधि सभामा सदस्यहरूको कार्यकाल दुई वर्षको हुन्छ । हाल रिपब्लिकनहरूको बहुमत छ र ह्यारिसका डेमोक्रेटहरूले परिवर्तनको आशा गर्नेछन् ।
सिनेटमा एक सय सिटमध्ये ३४ सिट छ वर्षे कार्यकालका लागि उपलब्ध छन् । रिपब्लिकनहरूले डेमोक्रेटको सानो बहुमत उल्टाउने आशा गरिरहेका छन् ।
५३८
संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचनलाई नियन्त्रण गर्ने सार्वभौमिक मताधिकार अप्रत्यक्ष प्रणाली निर्वाचक मण्डलमा स्वागत छ ।
प्रत्येक राज्यमा निर्वाचकहरूको फरक सङ्ख्या छ । जनसङ्ख्याअनुसार फरक हुने प्रतिनिधि सभाका निर्वाचित प्रतिनिधिहरूको सङ्ख्यामा सिनेटरहरूको सङ्ख्या (प्रति राज्य दुई) जोडेर गणना गरिन्छ ।
उदाहरणका लागि रुरल भर्मोन्टमा जम्मा तीन निर्वाचक मत छन । त्यसैगरी विशाल क्यालिफोर्नियामा ५४ छन् । पचास राज्य र कोलम्बिया जिल्लामा कूल पाँच सय ३८ निर्वाचक छरिएका छन् । ह्वाइट हाउस जित्न उम्मेदवारले दुई सय ७० मत जित्नुपर्छ ।
७७४,०००
पेव रिसर्च सेन्टरका अनुसार सन् २०२० को चुनाव सुचारु रूपले सञ्चालन भएको सुनिश्चित गर्ने मतदान कर्मचारीहरूको संख्या । संयुक्त राज्य अमेरिकामा तीन प्रकारका चुनाव कर्मचारीहरू छन् ।
तदाताहरूलाई स्वागत गर्न, भाषामा सहयोग गर्न, मतदान उपकरण सेट गर्न र मतदाता आइडी र दर्ताहरू प्रमाणित गर्न नियुक्त गरिएका अधिकांश मतदान कर्मचारीहरू हुन् ।
पेवका अनुसार निर्वाचन अधिकारीहरू मतदान कर्मचारीहरूलाई तालिम दिने जस्ता विशेष कर्तव्यहरू पूरा गर्न निर्वाचित, नियुक्त वा मनोनीत गरिन्छन् ।
मतदान पर्यवेक्षकहरू सामान्यतया राजनीतिक दलहरूद्वारा मतगणना अवलोकन गर्न नियुक्त गरिन्छन् । ट्रम्पले नतिजा बिना शर्त स्वीकार गर्न अस्वीकार गरेका कारण यस वर्ष विशेष रूपमा विवादास्पद हुने अपेक्षा गरिएको छ ।
धेरै निर्वाचन कर्मचारीहरूले नोभेम्बर ५ को मतदानअघि आफूहरूले सामना गरिरहेको दबाब र धम्कीहरूका बारेमा एएफपीसँग पहिले नै कुरा गरिसकेका छन् ।
सात करोड ५० लाख
नोभेम्बर २ सम्म फ्लोरिडा विश्वविद्यालयको डाटाबेसअनुसार सात करोड ५० लाखभन्दा बढी अमेरिकीले अग्रिम मतदान गरिसकेका छन् ।
अधिकांश अमेरिकी राज्यले मानिसहरूलाई नोभेम्बर ५ को मतदान दिनमा समय मिलाउन नसक्ने वा मतदान गर्न नसक्ने अवस्थाको सामना गर्न व्यक्तिगत मतदान वा हुलाक मतदानको अनुमति दिन्छन् ।
२४ करोड ४० लाख
बाइपार्टिसन पोलिसी सेन्टरका अनुसार सन् २०२४ मा मतदान गर्न योग्य हुने अमेरिकीहरूको सङ्ख्या ।
तीमध्ये कति जनाले वास्तवमै मतदान गर्नेछन् भन्ने कुरा हेर्न बाँकी नै छ । तर पेव रिसर्च सेन्टरका अनुसार सन् २०१८ र सन् २०२२ को मध्यावधि चुनाव तथा सन् २०२० को राष्ट्रपतीय मतदानले संयुक्त राज्य अमेरिकामा दशकौँयता देखिएका त्यस्तै प्रकारका तीन उच्चतम मतदान सहभागिता उत्पन्न गरेका थिए ।
‘मतदान–योग्य जनसङ्ख्याको लगभग दुई–तिहाई (६६ प्रतिशत) सन् २०२० को राष्ट्रपति चुनावमा मतदान गर्न उपस्थित भए । यो सन् १९०० यताको कुनै पनि राष्ट्रिय चुनावको उच्चतम दर हो’, पेवले आफ्नो वेबसाइटमा भनेको छ ।
जनगणना ब्युरोका अनुसार त्यो करिब १५ करोड ५० लाख मतदाता बराबर थियो ।