Logo
Logo

मेयर हर्क साम्पाङको युके यात्राकाे फेहरिस्त : कति उठ्यो सहयोग रकम ?

६० पाउण्डको जुत्तालाई १३ लाखको चर्चा


2.2k
Shares

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफ्नो दुईहप्ते युके भ्रमणका क्रममा ऐतिहासिक चाथाम डकयार्ड र लन्डनको संसद भवनको भ्रमण गरे । चाथाम र आयल्सफोर्डका सांसद ट्रिस्टान ओस्बोर्न, जीलिङ्घाम र रेनहामका सांसद नौसभा खान र स्वकीय सचिवले संसद भवनको विशेष अवलोकन गराएका थिए ।

सो अवसरमा भूतपूर्व गोर्खा सैनिकहरू भबिन राई, ताईकाजी गुरुङ र भूमिराज राईसहित मेयर साम्पाङ र सांसद ट्रिस्टान ओस्बोर्नले संसद परिसरमा रहेको मेमोरियल गार्डेनमा अमर सहिदहरुको सम्मानमा क्रस गाडेर पप्पीफूल अर्पण गरे ।

चाथाम डकयार्ड र संसद भवनको भ्रमणको व्यवस्थापन नेपाली मूलकी पहिलो महिला मेयर काउन्सिलर निना गुरुङले गरेकी थिइन् । मेयर साम्पाङलाई चाथाम डकयार्डका डिपुटी सीइओ पाउल बर्नार्डले पनडुब्बी निर्माणस्थलको अवलोकन गराएकी थिइन् । चाथाम डकयार्ड १६औं शताब्दीमा स्थापित भएको बेलायतको प्रमुख पानीजहाज निर्माणस्थल थियो । अहिले चाथाम हिस्टोरिक डकयार्ड ट्रस्टद्वारा पर्यटकीयस्थलको रूपमा सञ्चालनमा छ ।

भ्रमण टोली चाथामको रेल स्टेसनबाट वेस्टमिन्स्टरस्थित संसद भवन पुगेका थिए । जहाँ सांसदहरूले मेयर साम्पाङलाई संसदको कार्य र लोकतान्त्रिक प्रक्रियाबारे जानकारी गराएका थिए । भ्रमणको समापनमा सांसद ट्रिस्टान ओसबर्नले मेयर साम्पाङको सम्मानमा दिवा भोज आयोजना गरिएको थियो । साथै, मेयर साम्पाङलाई लन्डनको दृश्यावलोकन गराइएको थियो ।

त्यसै साँझ मेयर साम्पाङको सम्मानमा चाथामको गोर्खा फायर रेस्टुरेन्टमा रात्रिभोजसहित नेपालीहरूसहित स्थानीयसँग भेटघाट कार्यक्रम राखिएको थियो । जहाँ सुम्निमा पारुहाङ प्रतिमा पार्क निर्माणका लागि आर्थिक सहयोग संकलन कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा काउन्सिलर निना गुरुङ, मेडवे काउन्सिल लिडर भिन्स म्यापल, मेयर काउन्सिलर मारियन मास्तोरोभ लगायतका वक्ताले मेयर साम्पाङको कार्यको प्रशंसा गर्दै बधाई दिएका थिए ।

मेयर साम्पाङले आतिथ्य सत्कारका लागि धन्यवाद व्यक्त गर्दै कला र संस्कृति आदान प्रदान गर्न धरान नगर र मेडवे नगरबीच मितेरी साइनो गाँस्न पहल गर्ने बताए । सो अवसरमा उनले सहयोग दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रमाण–पत्र प्रदान गरेका थिए । मेडवे काउन्सिलका तर्फबाट काउन्सिलको लोगो अंकित मायाको चिनो प्रदान गरिएको थियो भने मेयर साम्पाङले पनि मेडवेका मेयरलाई मायाको चिनो प्रदान गरे ।

जनसहयोगको अभियान

मेयर साम्पाङले धरानको खानेपानी परियोजना र विकासका लागि सहयोग पुर्याउने युकेबासी नेपालीलाई धन्यवाद दिए । बेलायतको प्रशासनिक र विकास प्रक्रिया बुझ्नु, साथै सुम्निमा पारुहाङ प्रतिमा पार्क निर्माणका लागि सहयोग जुटाउनु थियो । भ्रमणको व्यवस्थापन धरान समाज युकेले गरेको हो ।

मेयर हर्क साम्पाङको यूके भ्रमण विशेष रूपमा जनसहभागिता र सहयोग संकलनमा सफल मानिएको छ । नेपाली समुदायले उनीप्रति सम्मान र सद्भाव देखाए, जसले मेयर साम्पाङको लोकप्रियता र चर्चालाई अझ वृद्धि गरेको छ ।

उनको अंग्रेजी भाषाको सम्बोधन व्यापक रूपमा चर्चित बन्यो । नेपाली नेताहरूको अंग्रेजी बोलाइको कमजोरीमाथि प्रायः चर्चा भइरहँदा मेयर साम्पाङको स्पष्ट र प्रभावकारी सम्बोधनले धेरैलाई प्रभावित बनायो । धुस्रे फुस्रै श्रमदानमा देखिने मेयरको प्रभावकारी अंग्रेजी भाषाको भाषण हेरेर धेरैको उनीप्रतिको हेराई र सोंचाईमा परिबर्तन आएको देखिन्छ ।

नेपालबाट ल्याएको कालो जुत्ता मात्रै संधै लाएको देखेर दाजुले ६० पाउण्डको नयाँ जुत्ता किनिदिएको प्रसंगलाई १३ लाखको जुत्ता भन्दै गरिएको पोस्टको जवाफमा उनले थप चर्चा पाए । आफ्नो आत्मासम्मानमा चोट पुर्याउने चेष्टा नगर्न उनको चेतावनी थियो । त्यस्तो भ्रामक पोस्ट गर्ने मान्छेलाई एयरपोर्टमा आएर मैले भ्रम छरेको हो भनेर त्यो जुत्ता उसैलाई दिन्छु भन्ने उनको भनाइ थियो ।

कति उठ्यो सहयोग रकम ?

धरान समाजको मातहत संकलित हिसाबले नेपाली रुपैयाँ दुई करोड ५६ लाख ४६ हजार एक सय बढी रकम उठेको जानकारी गराइयो । धरान समाजका महासचिव डा. महा राईले हिसाब प्रस्तुत गरेका थिए । सो अवसरमा धरान समाज युकेका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भाष्कर राईले आगामी डिसेम्बरको अन्तसम्ममा कबुल गरेको सहयोग उपलब्ध गराई दिन आग्रह गरे ।

सहयोग हस्तान्तरण गर्न आफैँ नेपाल गएर पत्रकार सम्मेलन गरेर हस्तान्तर गर्ने उनले जानकारी दिए । सहयोग संकलनमा संलग्न समूहहरूको विवरण र सहयोग प्रतिबद्धताको चेकको आधारमा प्रारम्भिक अनुमान अनुसार सहयोग रकम ५ करोड रुपैयाँमाथि पुग्ने सम्भावना छ ।

ग्रेज थोरोक नेपाली समाज, सुम्निमा पारुहाङ निर्माण समिति युके र किरात राई यायोख्खा युकेको नेतृत्वमा संकलन भइरहेको सहयोगको विवरण आउन बाँकी रहेको बताइएको छ । तमुधि युकेले २ लाख २२ हजार सहयोग जुटाएको छ र अन्य संघ संस्थाहरूको सहयोग पनि सुम्निमा पारुहाङ पार्कको खातामा पुगेपछि मात्र पूर्ण विवरण आउने भएको छ ।

भ्रमणको अन्य कार्यक्रमहरू

मेयर साम्पाङले युके भ्रमणका क्रममा विभिन्न च्यारिटी कार्यक्रमहरूमा सहभागी भए । केन्ट काउन्सिल, फोल्कस्टोन, र हाइथका मेयरहरूसँग भेटघाट गर्नुका साथै केन्ट काउन्टी काउन्सिलका प्रेसिडेन्टसँग छलफल गरे । उनले प्राइमरी स्कूलको भ्रमण गर्दै त्यहाँको शिक्षा प्रणालीबारे जानकारी लिए । पारिवारिक समयका क्रममा विन्ड्सर क्यासल र लन्डन घुमेका थिए ।
साथै, उनले बिभिन्न गोर्खाली पल्टनहरू, ऐतिहासिक चाथाम डकयार्ड, संसद भवन, स्टोनहेन्ज, र गोर्खा वेलफेयर ट्रस्टको पनि अवलोकन भ्रमण गरे ।

भ्रमणको अन्तिम दिन १ नोभेम्बरमा उनले किरात राईहरूको सामुहिक माङ्खिम स्थल किरात राई हाउस ग्याम्बल्स लेन पुगेर तिन्चुला दर्शनसहित उनको स्वागत सम्मानमा आयोजित कार्यक्रममा सहभागी भएर युकेका राईहरुको सामुहिक संस्थाको औपचारीक कार्यक्रमा उनलाई गरिएको सम्मान र आर्थिक सहयोगको कार्यक्रममा सहभागी भए ।

सो अवसरमा बोल्दै मेयर साम्पाङले सुम्निमा पारुहाङ् प्रतिमा पार्क निर्माण पूरा नहुन्जे सहयोग संकलन जारी हुने भएकाले कोही पनि सहयोग गर्न नछुटोस् भन्ने आफ्नो चाहना रहेको बताए । मेयर साम्पाङ नोभेम्बर २ मा परिवारसहित स्वदेश फर्किएका छन् । -यूकेबाट भूमिराज राईको सहयोगमा

प्रतिक्रिया दिनुहोस्