Logo
Logo

फ्रान्समा कोभिड-१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रतिबन्धत


- दृष्टि न्युज/संवाददाता

0
Shares

पेरिस, १५ जेठ (एएनआई) । फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोनाभाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो ।
फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड–१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न नहुने सल्लाह दिएको एक दिनपछि फ्रान्सले उक्त निर्णय गरेको हो । अध्ययनमा यस औषधिका नकारात्मक र डरलाग्दा असर हुने भेटिएको छ ।
साथै, विश्व स्वास्थ्य संगठनले सोमबार घोषणा गरेझैं फ्रान्समा यस औषधिको क्लिनिकल परीक्षणमाथि पनि प्रतिबन्ध लगाइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का विरामीलाई औलो विरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन सिफारिस गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । कोरोनाभाइरसको कुनै खोप वा प्रामाणिक औषधि पत्ता नलागेको अवस्थामा फ्रान्सले गत मार्चमा यस औषधिलाई कोविड–१९ का विरामीले सेवन गर्न सक्ने भन्दै अनुमति दिएको थियो ।
बेलायती मेडिकल जर्नल ल्यान्सेटले कोभिड–१९ का बिरामीलाई हाइड्रोक्लोरोक्वीन औषधि सेवन गर्न दिइए त्यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने, व्यक्तिको मृत्यु हुने भन्दै प्रयोग गर्न नहुने बताएको थियो ।
तर यस औषधिका समर्थकहरु पनि थुप्रै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्लोरोक्वीनको प्रयोगलाई प्रबद्र्धन गरिरहनु भएको छ । दुबै देशमा कोरोना संक्रमितको संख्या बढी छ ।

प्रतिक्रिया दिनुहोस्