Logo
Logo

सर्लाहीको पोखरीमा कार खस्यो, दुई जना बेपत्ता


441
Shares

काठमाडौं । सर्लाहीको बयलवासस्थित एक पोखरीमा कार डुब्दा दुईजना बेपत्ता भएका छन् । बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज बिहान डुबेको हो ।

कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका छन् ।

खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुईजनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्