काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले आज मंगलबार पोखरामा प्रदर्शन गरेका छन् ।
पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता तथा कार्यकर्तासहितका समर्थकले सरकारले प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन् ।
सो क्रममा रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र समर्थकबीच घम्साघम्सी भएको छ भने प्रहरीले अश्रुग्याँस नै प्रहार गरेको छ । भिड निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जनाएको छ ।
कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई अनुसन्धाका लागि दुई पटक म्याद थप गरिसकेको छ । तर, आज पनि अहिले अदालतमा म्याद थपका लागि अदालत लगिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर उनको रिहाईको माग गर्दै सरकारमाथि दबाब बढाइरहेका हुन् ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाईको माग गर्दै रास्वपा समर्थनले लामिछाने पक्राउको भोलिपल्टैदेखि पोखरा र काठमाडौं केन्द्रीत विरोध प्रदर्शन गर्दै आएका छन् ।