काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ ।
खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई मध्यराति ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु भएको हो । उक्त मोटठरसाइकलमा तीन जना सवार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।