काठमाडौं । आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ ।
सरकारले प्रतिशोध राखेको भन्दै रवि रिहाईको माग गर्दै आइरहेको रास्वपाले आज पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने भएको हो ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिए ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् । हाल उनी कास्की प्रहरीको हिरासतमा छन् ।
उनीमाथि अनुसन्धानका लागि मंगलबार तेस्रोपटक म्याद थप भएको छ । रास्वपा कार्यकर्ता तथा समर्थकले रविलाई हिरासतबाहिर राखेर अनुसन्धान गरिनुपर्ने माग गर्दै विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् ।