काठमाडौं । अमेरिकाको पूर्वी र मध्यभागमा मतदान सकिएर मतगणना जारी छ भने पश्चिमी राज्यहरूमा अझै पनि मतदान जारी छ । अहिलेसम्मको मतगणनामा २०२० को परिणामभन्दा फरक पर्ने गरी कुनै नाटकीय परिवर्तन देखिएको छैन । यो समाचार तया पार्दासम्म विभिन्न सञ्चार माध्यमले विभिन्न राज्यको सम्भावित जीतको प्रक्षेपण गरेका छन् ।
सीएनएनले अहिलेसम्म ह्यारिसको पक्षमा ८१ र डोनल्ड ट्रम्पको पक्षमा १६२ कलेज इलेक्ट्रल मत प्रक्षेपण गरेको छ भने फक्स न्यूजले ह्यारिसको पक्षमा ११७ र डोनल्ड ट्रम्पको पक्षमा २०५ कलेज इलेक्ट्रल मत प्रक्षेपण गरेको छ । एशोसियटेड प्रेसले अहिलेसम्म ह्यारिसको पक्षमा ९९ र डोनल्ड ट्रम्पको पक्षमा १८८ कलेज इलेक्ट्रल मत प्रक्षेपण गरेको छ । अहिलेसम्म कुनै पनि ब्याटल ग्राउण्ड स्टेटको मत परिणाम कुनै पनि प्रक्षेपण गरेका छैनन् ।
चुनावको मतदान र मतगणना जारी रहेको यतिबेला दुबैतिर एक किसिमको आशंका नै जारी छ । कुनै पनि पक्ष ढुक्कले आफू जित्ने बताइरहेका छैनन् । अबको केही घण्टापछि कुनै ब्याटल ग्राउण्ड राज्यको परिणाम प्रक्षेपण हुन सक्छ । त्यसले भने २७० को म्याजिक संख्या कसको पक्षमा जान सक्छ भन्ने आँकलन गर्ने ठाउँ हुन्छ ।
अमेरिकामा राष्ट्रपति चुनाव जित्नका लागि विभिन्न राज्यहरूमा बाँडिएको ५३८ कलेजे इलेक्ट्रल मतको बहुमत २७० कलेजे इलेक्ट्रल मत ल्याउनुपर्ने हुन्छ ।
संसदको दुबै सदनमध्ये माथिल्लो सदन सिनेटका केही सिट र हाउस अफ रिप्रेन्जेन्टेटिब्सका सबै ४३५ स्थानका लागि पनि चुनाव भएको छ । ती पदहरूको पनि केही राज्यमा मतदान र केही राज्यमा मतगणना जारी छ ।