Logo
Logo

डोनाल्ड ट्रम्पले जितेपछि विश्व नेताहरूले के भने ?


567
Shares

काठमाडौं । अमेरिकी निर्वाचनमा आश्चर्यजक जित हासिल गरेपछि विश्व नेताहरू बुधबार डोनाल्ड ट्रम्पलाई बधाई दिन तत्पर देखिएका छन् । ट्रम्प अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनको उनको दोस्रो कार्यकाल हो । ट्रम्पको चुनावी जित पुष्टि हुनुअघि नै धेरै व्यक्त गरिएका पहिलो प्रतिक्रियाहरू यस्ता छन् :

जापान- नयाँ उचाइ
प्रधानमन्त्री सिगेरु इसिबाले ‘जापान–अमेरिका गठबन्धन र जापान–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ट्रम्पसँग नजिकबाट काम गर्ने’ आशा गरेको पत्रकारहरूलाई बताए ।

दक्षिण अफ्रिका

सन् २०२६ मा अमेरिकाभन्दा अघि आगामी वर्ष जी२० को अध्यक्षता सम्हाल्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई सन्देशमा ‘हाम्रा दुई राष्ट्रबीचको सहयोगका सबै क्षेत्रहरूमा नजिक र पारस्परिक लाभदायक साझेदारी जारी राख्न’ तत्पर रहेको बताए ।

साउदी अरेबिया- नजिकको सम्बन्ध

साउदी अरेबियाका राजा सलमान र उनका छोरा, वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पलाई पठाएको तारमा राजा सलमानले ‘दुई मित्र देश र जनताबीचको नजिकको सम्बन्धलाई सबैले सबै क्षेत्रमा बलियो र विकसित गर्न चाहन्छन् भन्दै प्रशंसा गरेको आधिकारिक साउदी प्रेस एजेन्सीले जनाएको छ ।

कतार- सुरक्षा र स्थिरता

गाजा द्वन्द्वमा प्रमुख मध्यस्थकर्ता र मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डाको आतिथ्यकर्ता कतारका अमिर शेख तमिम बिन हमद अल–थानीले ‘क्षेत्र र विश्वव्यापी रूपमा सुरक्षा र स्थिरता प्रवर्द्धन गर्न फेरि सँगै काम गर्न’ तत्पर रहेको बताए ।

टर्की- मेरा मित्र ट्रम्प

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले ‘मेरा मित्र डोनाल्ड ट्रम्पलाई’ बधाई दिए । ‘टर्की–अमेरिका सम्बन्ध बलियो हुनेछ, क्षेत्रीय र विश्वव्यापी सङ्कट र युद्धहरू, विशेषगरी प्यालेस्टिन मुद्दा र रुस–युक्रेन युद्ध समाप्त हुनेछन् भन्ने मलाई आशा छ’, उनले वक्तव्यमा भनेका छन् ।

इजिप्ट- शान्ति प्राप्ति

राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले ट्रम्पको ह्वाइट हाउस फिर्तीले मध्यपूर्वमा शान्ति ल्याउन मद्दत गर्नसक्ने आशा व्यक्त गरे । ‘म उहाँलाई सबै सफलताको कामना गर्छु र सँगै शान्ति प्राप्त गर्न, क्षेत्रीय स्थिरता कायम राख्न र इजिप्ट–संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक साझेदारी सुदृढ गर्न तत्पर छु’ उनले भनेका छन् ।

दक्षिण कोरिया- गठबन्धन अझ उज्यालो चम्कने

राष्ट्रपति युन सुक येओलले ट्रम्पलाई बधाई दिँदै भनेका छन्, ‘तपाईंको बलियो नेतृत्वमा, दक्षिण कोरिया–अमेरिका गठबन्धन र अमेरिकाको भविष्य अझ उज्यालो चम्कनेछ । तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु ।’

इटाली- हार्दिक बधाई

प्रधानमन्त्री जोर्जिया मेलोनीले ‘हार्दिक बधाई’ दिए । ‘इटाली र संयुक्त राज्य अमेरिका अटल गठबन्धनद्वारा जोडिएका ‘भगिनी’ राष्ट्रहरू हुन्’ उनले भनेका छन् ।

हंगेरी- सबैभन्दा ठूलो पुनरागमन

युरोपमा ट्रम्पका सबैभन्दा नजिकका सहयोगी प्रधानमन्त्री भिक्टर ओर्बनले यो परिणामलाई ‘सम्भवतः पश्चिमी राजनीतिक इतिहासमा सबैभन्दा ठूलो पुनरागमन’ भनेका छन् ।

‘उनीहरूले उहाँलाई जेलको धम्की दिए, उहाँको सम्पत्ति खोसे, उहाँको हत्या प्रयास गरे, अमेरिकाको सम्पूर्ण मिडिया जगत् उहाँको विरुद्धमा गयो र पनि उहाँ विजयी हुनुभयो’, उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्