काठमाडौं । चीनको सिचुवान एयरलाइन्सले आज पोखरा अन्तराष्ट्रिय विमानस्थनमा दोस्रो उडान गर्दैछ । पहिलो उडान गरेको १७ महिनापछि सिचुवान एयरलाइन्सले आज १३४ यात्रुसहित दोस्रो चार्टर्ड उडान गर्ने भएको हो । सिचुवान एयरलाइन्सले २०८० असार ६ मा पहिलोपटक चार्टर्ड उडान गरेको थियो ।
नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित २४ कात्तिकमा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आउन लागेका हुन् ।
चीनको कुनमिङ विमानस्थलबाट आउने एयर बस ३१९ विमान आज दिउँसो २ बजेर ४० मिनेट जाँदा पोखरामा अवतरण गर्नेछ । पोखरामा अवतरण गरेपछि अपराह्न ४ बजेर १० मिनेट जाँदा काठमाडौंका लागि उड्ने विमानस्थलका सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिए ।
प्रतियोगिताका प्रचारप्रसार संयोजक प्रतीक पहारीले विमानबाट एक सय ३४ जना यात्रु पोखरा आउने जानकारी दिए । प्रतियोगितामा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।